डोनाल्ड ट्रम्पको सार्पी साइनो

  • अरू राष्ट्रपति कलम प्रयोग गर्छन् तर ट्रम्पचाहिा किन पर्मानेन्ट मार्कर ? सार्पीसँग उनको साइनो पुरानै हो ? पहिलो पटक राष्ट्रपति हुँदा सामान्य कलम प्रयोग गरेका ट्रम्प पछि किन मार्करमा आकर्षित भए ?
  • राष्ट्रपतिको शपथ ग्रहणमा ट्रम्पले समर्थकलाई आफ्नो प्रिय मार्कर बाँडेका थिए

अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा ह्वाइट हाउसमा पदभार ग्रहण गरेलगत्तै डोनाल्ड ट्रम्पले कार्यकारी आदेश गरे– पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिनेदेखि सन् २०२१ को क्यापिटोल दंगाका १२ सय आरोपी/कैदीबन्दीको सजाय माफ गरिदिए ।

दक्षिण सिमाना राष्ट्रिय संकटकाल घोषणा, इलन मस्क नेतृत्वमा ‘डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसिएन्सी’ को गठनलगायतका २ सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरे । नेसनल अर्काइभ एन्ड नेसनल एड्मिनिस्ट्रेसनका अनुसार, त्यस दिन उनले हस्ताक्षर गरेका २६ वटा कार्यकारी आदेश जारी भयो । यो लेख तयार परिरहँदा ट्रम्पले गरेका ८९ वटा कार्यकारी आदेश नेसनल अर्काइभ एन्ड नेसनल एड्मिनिस्ट्रेसनले सार्वजनिक गरेको छ ।

आदेशमा हस्ताक्षर भएपछि ह्वाइटहाउसले त्यहाँको फेडरल रिजस्ट्रारको कार्यालयमा पठाउँछ र त्यहाँबाट गजेटमा प्रकाशित गर्छ, सरकारी कार्यालय वा संस्थालाई लागू गर्न बाध्य बनाउँछ, कानुनी मान्यता पाउँछ । कार्यकारी आदेशलाई अदालतले गलत वा असंवैधानिक पनि ठहर गर्न सक्छ वा अर्को कार्यकारी आदेशले उल्ट्याउन सक्छ ।

जब ट्रम्प कार्यकारी आदेश जारी गर्छन् वा कुनै निर्णयमा गर्छन् तब उनी प्रसन्न हुँदै आफूले हस्ताक्षर गरेको आदेश देखाउँछन् । धेरैको ध्यान उनको आदेशमा भन्दा पनि हिमशृंखलाजस्ता लामा, मोटो धर्का भएका चखिला उनको हस्ताक्षरले खिच्‍छ । त्यो चखिलो, मोटो हस्ताक्षर कुनै कलमको होइन, मार्करको कमाल हो । ट्रम्प कलम प्रयोग गर्दैनन्, उनी एउटा पर्मानेन्ट मार्कर ‘सार्पी’ प्रयोग गर्छन् । उनले विभिन्न आदेशमा हस्ताक्षर गर्न प्रयोग भएका मार्कर समर्थकहरूलाई बाँडे ।

ट्रम्प हरेक विषय चर्चामा राख्‍न चाहन्छन् । ‘सार्पी’ को प्रयोग पनि यसमा लागू हुन्छ । नहोस् पनि किन ? उनको राष्ट्रपति कार्यकालको एउटा प्रतीकका रूपमा यसलाई चिनाउन खोजेको देखिन्छ । चाहे त्यो कलम होस् या आफ्नो छवि, ट्रम्प सधैं स्थायी रूपमा छाप छोड्न चाहन्छन्, ‘सार्पी’ जसरी । उनले गर्ने मोटो, लामो अनि चहकिलो हस्ताक्षर सबैले टाढैबाट देख्‍न सक्छन् । ‘सार्पी’ बाट गरेको हस्ताक्षर हत्तपत्त मेटिँदैन, लामो समय टलक्क देखिन्छ, जुन साधरण कलममा प्रयोग हुने मसीबाट सम्भव छैन ।

ह्वाइटहाउस प्रवेश गर्नुअघि नै अटोग्राफ दिन, नोट लेख्‍न वा लेख/रचना हाइलाइट गर्न उनी मार्कर प्रयोग गर्थे । राष्ट्रपतिकालमा उनको चर्चित विषयमा पर्छ मार्कर–हस्ताक्षर ।

‘सार्पी’ ब्रान्ड निवेल्स ब्रान्ड्स नामक एक पब्लिक कम्पनीले उत्पादन गर्ने पर्मानेन्ट मार्कर हो । स्यानफोर्ड इन्क कम्पनीले सन् १९६४ मा ‘सार्पी’ लाई स्थायी मार्करका रूपमा बजारमा ल्याएको थियो, सन् १९९० मा निवेल्स कम्पनीले खरिद गरेको थियो ।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दा होस् वा कुनै महत्त्वपूर्ण भाषण नोट गर्दा उनले लेख्‍ने लामो चम्किला मोटा अक्षरले मिडियाको ध्यान खिच्छ ।

‘सार्पी’ प्रति ट्रम्पको लगाव देखिने एउटा घटना हो– पर्खालमा गरेको हस्ताक्षर । सन् २०१९, सेप्टेम्बर १८ मा उनले क्यालिफोर्निया राज्यमा पर्ने मेक्सिकोको सिमानामा निर्मित ‘बोलार्डस’ पर्खालमा ‘सार्पी’ बाट हस्ताक्षर गरेका थिए ।

सार्वजनिक रूपमा आएका विषयमा ट्रम्पले लेखेको एउटा चिर्कटोको पनि चर्चा हुन्छ । महाअभियोग छानबिनका क्रममा कसैसँग कुनै पनि किसिमको सम्झौता नगर्ने भनेर लेखेको चिर्कटो सार्वजनिक भएको थियो, जहाँ उनले नोट गर्न ‘सार्पी’ को प्रयोग गरेका थिए । लेखिएको थियो– ‘मलाई केही चाहिँदैन र म जेलेन्स्कीसँग कुनै लेनदेन हुने सम्झौता गर्दिनँ ।’

सन् २०२२ मा उनीविरुद्ध गठित छानबिनका क्रममा भेटिएको एउटा कागाजतमा उनको पुरानो लिखतमा पनि सार्पीको प्रयोग भएको पाइएको थियो । सन् २००५ को एक हस्ताक्षरमा सार्पी प्रयोग गरेका थिए उनले । उसो त, २०१६ को चुनावी अभियानमा मत प्रतिशतसम्बन्धी ट्रम्पको हातमा रहेको कागजको चिर्कटो क्यामेरामा कैद भएको थियो । चिर्कटोमा मार्करले लेखिएको थियो ।

‘सार्पी’ मार्करको सबैभन्दा बढी चर्चाचाहिँ सन् २०१९ को सेप्टेम्बरमा भयो । डोरियान आँधीबारे जानकारी दिन बोलाइएका सञ्चारकर्मीलाई उनले अल्बामा राज्यमा आँधीको प्रभाव पर्ने भन्दै नक्सा देखाए । ‘सार्पी’ मार्करले कोरेको कालो मोटो धर्का नक्सामा देखिएपछि आलोचना भएको थियो । अल्बामालाई डोरियान आँधीले असर नगर्ने भनेर त्यहाँको एक सरकारी कार्यालयले पनि प्रस्ट्याएको थियो तर ट्रम्पले ‘सार्पी’ ले कोरेर त्यहाँसम्म पुग्ने दाबी गरेका थिए । उक्त प्रकरणलाई ‘सार्पी गेट’ भनियो । त्यसबेला ट्रम्पविरुद्ध धेरै किसिमका मिमहरू बनाइएका थिए ।

४७ औँ राष्ट्रपतिको शपथ ग्रहणको पहिलो दिन अर्थात् जनवरी २०, २०२५ मा ट्रम्पले आफ्नो मनपर्ने मार्कर समर्थकहरूलाई बाँडेका थिए । ती थिए– क्यापिटल वान एरिनामा राखिएका आदेशमा हस्ताक्षर गर्न प्रयोग भएका मार्कर । त्यसो गर्दा उनी निकै खुसी देखिन्थे । ट्रम्प जे गर्छन्, अरूभन्दा भिन्न र फरक गर्छन् ।

अरू राष्ट्रपति कलम प्रयोग गर्छन् तर ट्रम्पचाहिँ किन मार्कर ? सार्पीसँगको उनको साइनो पुरानै हो ? पहिलोपटक राष्ट्रपति हुँदा सामान्य कलम प्रयोग गर्ने ट्रम्प किन मार्करमा आकर्षित भए ?

एचबीओले सन् २०१८ मा प्रसारण गरेको एक सिरिजमा उनले ‘सार्पी’ रोज्‍नुको कारणबारे प्रस्ट्याए । उनले महँगो मूल्यका कलमले हस्ताक्षर गर्दा राम्रोसँग प्रस्ट नदेखिएको बताएका थिए । ‘सार्पी’ मार्करले राम्रोसँग पनि लेख्‍ने र चहकिलो पनि देखिने उनको भनाइ थियो । यसका लागि कम्पनीका प्रतिनिधिलाई नै कालो रंग र सुनको लेप भएको कलमको डिजाइन बनाउन लगाएको उनले सिरिजमा भनेका छन् । कालो रंग हुँदा ‘धनाढ्य’ जस्तो पनि देखिने उनको भनाइ थियो । ‘महँगो मूल्य हालेर किनेका कलमले राम्रो लेख्दैनन् । ‘सार्पी’ लिएँ, राम्रोसँग लेख्छ । यो साधारण र किफायती छ अनि मजस्तो बोल्ड पनि,’ उनले अन्तर्वार्तामा भनेका छन् । ‘सार्पी’ उनी नियमित डायरीमा पनि प्रयोग गर्छन् ।

कुन राष्ट्रपतिले कुन कलम प्रयोग गरे ?

ट्रम्पले पहिलो राष्ट्रपतीय कार्यकालको पहिलो दिन कार्यकारी आदेशमा हस्ताक्षर गर्दा विशेष रूपले बनाइएका क्रस कलमहरू प्रयोग गरेका थिए । त्यो थियो– सेन्चुरी–११ ब्ल्याक ल्याकुवर र गोल्ड रोलर बल पेन । उक्त कलम एटी क्रस कम्पनीले उत्पादन गर्छ । पहिलो कार्यकालको पहिलो दिन सन् २०१७ मा ट्रम्पले एउटा मात्रै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । पहिलो कार्यकालमा उनले जम्मा २२० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । जबकि बाइडेनले १६०, बाराक ओबमाले २००९ को कार्यकालमा १४७ र २०१४ को कार्यकालमा मा १२९ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेको विगत छ ।

बाराक ओबमा, जर्ज डब्लू बुस र बिल क्लिन्टनले क्रस टाउनसेन्ड पेन प्रयोग गरेका थिए । ओबमाले सेन्चुरी–११ ब्ल्याक ल्याक्वर र गोल्ड रोलरकै पेनको प्रयोग गरे । गराल्ड फोर्ड, रोनाल्ड रेगन, जर्ज बुसले क्रस पेनको प्रयोग गरे पनि आधिकारिक रूपमा क्रस कलमको प्रयोग भने क्लिन्टनको कार्यकालबाट भएको अमेरिकी राष्ट्रपति कार्यालयको अर्काइभमा पढ्न पाइन्छ ।

सीएनएनका अनुसार ट्रम्प, ओबामा र बुसले रिफिल्सयुक्त कलम पनि प्रयोग गरे । बुसले नीलो, ट्रम्प र ओबमाले कालो रंगको कलम प्रयोग गरेका थिए । ट्रम्पले प्रयोग गर्ने सार्पीमा कम्पनीले ‘विशेष पेन’ भनेर उनको हस्ताक्षर अंकित गरेको छ ।

पहिलो कार्यकालको पहिलो दिन ट्रम्पले मजाक गर्दै भनेका थिए, ‘हामीलाई धेरै कलमहरू आवश्यक पर्छ ।’ रोडी आइल्यान्डमा अवस्थित एटी क्रस कम्पनीले ह्वाइटहाउसलाई वर्षौँदेखि कलम उपलब्ध गराउँदै आएको छ । कम्पनीले बनाउने क्रस सेन्चुरी रोलर बल पेन बाइडेनले प्रयोग गरे । कालो लेपनमा सुनौलो सजावट भएको कलम उनको पहिलो दिनमै थियो । ती कलममा राष्ट्रपतिको हस्ताक्षर र राष्ट्रपतीय छाप पनि थियो ।

अमेरिकी राष्ट्रपतिहरूलाई दिइने कलम विशेष रूपमा डिजाइन गरिन्छ । डिजाइन गर्नुअघि राष्ट्रपतिमा निर्वाचित व्यक्तिलाई कम्पनीले पहिल्यै विभिन्न प्रकारका डिजाइनहरू पठाउँछ । त्यसैको आधारमा राष्ट्रपति निर्वाचित व्यक्तिले उपयुक्त लागेको डिजाइन मन पराएपछि कम्पनीले त्यही डिजाइन बनाउँछ । यो सत्ता हस्तान्तरण गर्नुअघि नै सबै प्रक्रिया पूरा हुन्छ । कार्यकारी आदेशमा हस्ताक्षर गर्ने दिनअघि नै कम्पनीले कलम उपलब्ध गराइसक्छ ।

यो कम्पनीको कलम अमेरिकी राष्ट्रपति गराल्ड फोर्ड र जिम्मी कार्टरको कार्यकालमा पनि थियो । तर, क्रस कम्पनीको पहिलो कलम औपचारिक रूपमा अमेरिकाका ४० औँ राष्ट्रपति रोनाल्ड रेगनको पालादेखि सुरु भएको ‘द न्युयोर्क’ म्यागिजनले लेखेको छ । उनले प्रयोग गर्ने मोडलचाहिँ क्लासिस सेन्चुरी ब्ल्याक बल प्वाइन्ट थियो । रेगन र जर्ज बुसले उक्त कम्पनीका केही हलुका र पातलो कलम रोजेका थिए ।

बिल क्लिन्टलले चाहिँ क्रस कम्पनीको पेन प्रयोग गरेनन् । उनले पार्कर बल प्वाइन्ट्स भएको सुनको लेपनयुक्त मेटल क्लिपवाला कलम प्रयोग गरे । क्लिन्टनले प्रयोग गर्ने कलम हाल बजारमा उपलब्ध हुन छाडेको ‘न्युयोर्क’ ले जनाएको छ ।

बाराक ओबामाले चाहिँ आफ्नो कार्यकालमा दुई खालका कलम प्रयोग गरे । उनले प्रयोग गर्ने कलममध्ये एउटा कालो र अर्को कालो/सेतो रंगको थियो ।

अमेरिकामा ओबामापछि डोनाल्ड ट्रम्प राष्ट्रपति बने । पदभार ग्रहणपश्चात् उनको टेबलमा उही पुरानै सेन्चुरी ११ मोडल थियो । तर, पछि उनले उक्त कलमले मूल्यअनुसार राम्रो नलेखेको भन्दै ‘सार्पी’ लाई रोजे ।

अमेरिकी राष्ट्रपतिहरूको कलम प्रयोगको पनि विभिन्न किस्सा छन् । कसैले एउटै कलमबाट कार्यकारी आदेश वा नीतिमा हस्ताक्षर गर्छन् भने कसैले २० भन्दा बढी कलम प्रयोग गरेर नीतिमा हस्ताक्षर गरेको विगत छ । ओबमाले एउटा कानुनमा हस्ताक्षरमा गर्न २२ वटा कलम प्रयोग गरे । ‘एफोर्डेबल केयर एक्ट ल’ मा हस्ताक्षर गर्न ओबमाले २२ वटा विभिन्न कलम प्रयोग गरे । ओबामाले एउटा आदेश जारी गर्न २२ वटा विभिन्न कलम प्रयोग गरे ताकि कानुन पास गर्न महत्त्वपूर्ण भूमिका खेल्‍नेहरूका लागि उपयोगी होस् । सन् २०१० मा स्वास्थ्यसम्बन्धी लागू गरिएको उक्त अमेरिकी कानुन हस्ताक्षर गर्दा प्रयोग भएका कलमहरू ओबमाले जो बाइडेन तथा न्यान्सी पिलोसीलाई दिएका थिए । यो कानुनलाई कतिपयले ‘ओबमा केयर’ का रूपमा पनि लिन्छन् ।

अमेरिकी राष्ट्रपति ल्यान्डोन बी जोनसनले सन् १९६४ मा नागरिक अधिकारसम्बन्धी एउटा कानुनमा हस्ताक्षर गर्दा ७५ वटा कलम प्रयोग गरेका थिए । ती कलम उनले उक्त कानुन पास गराउन भूमिका खेल्ने नेता तथा सामाजिक अभियन्ता मार्टिन लुथर किङ जुनियरलाई दिएको अमेरिकी राष्ट्रपति कार्यालयको अर्काइभमा उल्लेख छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः