विमानस्थल प्रस्थान गेटको छेउछाउ खादा र माला बेच्नेको हुललाई महानगरले यहाँ नबस्नु भन्ने आदेश दियो । महानगर आउँदा पसल उठाएर भाग्नेको हुलले अरूलाई मनोरञ्जन देला, संवेदनाको भावले निचोर्ला तर भाग्नेको मनलाई ? यस्तै प्रश्नको फेरो समाएर धेरै मिडियाकर्मी पुग्छन् । तर अवस्था उही शुन्य नै रहन्छ । महानगरले नबस् भन्छ ठीक छ नबसौँला, तर कहाँ बस्ने ? सटरमा बस्न पुँजी छैन । व्यापार खादा र मालाको हो । किन्ने यही आउँछन् । विदेश जाने बाटोको मुखमा खादा बेच्नेहरूलाई मलिन अनुहार आजकल सामान्य लाग्छ । सबै मलिन अनुहार लिएर आउँछन् र सोध्छन्, ‘यो खादाको दाम कति हो ?’ यहाँ खादा स्तर स्तरमा छ । स्तर मान्छेको होइन, खादाको । दामको स्तर छ । यस्तै स्तर नाप्नेहरूको जालोबीच हुर्किएको एक समयका हामी प्रत्यक्षदर्शी हौँ ।
विमानस्थल गेटबाहिरको सडक पार गरेपछि एउटा ह्वीलचेयरमा बसेर खादा र माला बेचिरहेकी एक आमा भेटिइन् । सडकको कुनामा उनको पसल छ । सिधै त उनकोको पसललाई देख्न सकिन्न । आँखा घुमाउने हो भने मात्र उक्त पसलमा नजर गएर ठोकिनसक्छ ।
सिन्धुपाल्चोक घर भएकी आमाको नाम मैती माझी हो | उनै आमा अर्थात मैती माझी हाल काठमाडौँमा बस्दै आएकी छिन् । ह्वीलचेयरमा बसेर दिनभर व्यापार गर्छिन् । उनको शरिरले उनलाई हिँड्नबाट रोक लगाएको छ । वा भनौँ उनी शारीरिक रूपमा नै अपाङ्ग छिन् । मान्छेलाई खुट्टाले हिँड्न दिएन भने पनि मान्छे मन र आँटले हिँड्छ । उनलाई यही आँटले सिन्धुपाल्चोकबाट काठमाडौँसम्म हिँडायो । उनले आएर यहाँ व्यापार गरिन् ।
सबै व्यापारीलाई महानगरको नियमले बाँधे पनि उनलाई छाडिदियो । उनी भन्छिन्, ‘मलाई असक्त भनेर छाडिदियो । मैले कसैलाई घुस खुवाएको छैन । मैले ठूला मान्छे कोहीसँग पनि कुरा गरेको छैन । मेरो यो अवस्था देखेर नै महानगरले छाडिदिएको हो । यसमा म खुसी नै छु ।’
उनलाई रोगले बच्चैबाट च्याप्यो । कालान्तरमा उनको विवाह पनि भयो । श्रीमानले अर्कै श्रीमती लिएर हिँडेपछि सहाराको नाममा केवल दुई छोरी थिए । उनीहरूको लालनपालनमा व्यस्त रहीसकेको शरीर अहिले आफ्नै एक्लो काममा जीवन घोटिरहेको छ | यसैक्रममा उनले आफ्नो जिन्दगीको साठीभन्दा बढी बसन्तलाई बिदा गरिसकेकी छिन् ।
विगत केही वर्षबाट उनी एयरर्पोट नजिक खादा र माला बेच्ने काम गर्छिन् । होलसेल व्यापारीहरू उनलाई खादा र माला पुर्याउन त्यहिँसम्म आउँछन् ।
मैती तिलगंगामा बस्छिन् । उनको पसल एयरपोर्ट नजिक छ । पसल नितान्त फुटपाथमा हो । त्यसैले सबै सामानहरू ओसार्नुको विकल्प छैन | त्यसको लागि उनलाई शरीरले साथ नदिएता पनि बिहानको समयमा सहयोग गर्ने एक जना सहयोगी छन् । उनले मासिक रूपमा तिलगंगाबाट एयरपोर्ट सामान ल्याएको पाँच सय लिन्छन् । र, मैतीलाई बेलुकीको समयमा सामान कोठासम्म लैजान अर्का एक सहयोगी छन् | उनलाई भने मैतीले प्रत्येक दिन सामान कोठा पुर्याएबापत खाजा खुवाउँछिन् । दुवै छोरीको विवाह गरिसकेकी मैतीलाई उनै छोरीहरू भेट्न बेलाबखत आइरहन्छन् रे |
उनलाई जीवनसँग केही गुनासो छैन । ‘गुनासो गर्यो भने आफैँलाई पीर हो बाबु’, उनी एउटा प्रसङ्गमा जोडछिन् ।
विभिन्न दामको खादा र माला राखेकी मैतीलाई विदेश पुर्याउन हिँडेका मान्छेको अनुहार पढ्न सजिलै आउँछ । उनीहरूको नैराश्य उनले सजिलै बुझ्ने गरेकी छिन् ।
उनी भन्छिन्, ‘त्यति धेरै त कमाइ हुँदैन । कमाइ भएको दिन बढीमा पाँच वा छ सय हुन्छ भने नभएको दिन तीन सयजति हुन्छ |’ खादा र मालासँगै उनले गुट्खा, चुरोट र पानी पनि राखेकी छन् | त्यसैमा उनी थप्छिन्, ‘तर मन भुलाउने बाटो पनि त यही हो अरू काम गर्न सक्दिनँ ।’
उनी भन्छिन्, ‘कोठाको भाडा चार हजार छ, पानी पनि किनेर नै त खानुपर्छ । सडकमा कमाएको पैसाले मात्र यी कुराहरू धान्न निकै गाह्रो पर्छ बाबु ।’ तर त्यसैमा सरकारले दिएको वृद्धभत्ताबाट जोडजाड हुन्छ रे उनको । सरकारले दिएको केही रकमले उनको जिन्दगीको धागो फुकाल्न सजिलो भएकाले उनी सरकारसँग खुसी नै छिन् ।
जीवनको गतिमा दौडदा गाह्रो हुने भएकाले प्राय उनले समयलाई नै अगाडि लगाउँछिन् । जीवनबुझेकी मैतीलाई सरकारसँग केही भन्नु छैन । कति प्रधानमन्त्री फेरिए । कति सरकार फेरियो, तर अहँ उनलाई केही थाहा छैन । थाहा त छ केवल बाँच्नुको रहस्य थाहा छ, कर्मको प्रतिफल थाहा छ । यही बाँच्ने क्रममा उनले सडकबाट देशको व्याख्या गर्न सक्छिन् । अत: उनलाई सरकार थाहा नहोला, देशको अवस्था थाहा छ | बाँजो जमिनको कुण्ठा याद नहोला तर विमानस्थलले जन्माउने आँशुको अपनत्व थाहा छ | जहाजले उडाउने सपनाको गन्तव्य थाहा नहोला तर सडकको यथार्थ थाहा छ |




