
इजरायली शहर हाइफाको कार्कुर बस स्टपमा उभिरहेका मानिसहरूलाई एक आक्रमणकारीले आफ्नो कारले ठक्कर दिएका छन्। उक्त घटनामा ३ महिलासहित १० जना घाइते भएका जनाइएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
मिडिया रिपोर्टका अनुसार मानिसहरूलाई कारले ठक्कर दिएपछि आक्रमणकारीले दुई प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेका थिए।
त्यसपछि उनी घटनास्थलबाट भागेका थिए। पछि प्रहरीले उनलाई पक्राउ गर्यो।
इजरायली प्रहरीले उक्त हमला आतंकवादी हमला भएको आशंका व्यक्त गरेको छ। इजरायली सुरक्षा एजेन्सी शिन बेटका अनुसार आक्रमणकारी प्यालेस्टिनी हुन्। उनी इजरायलमा बस्दै आएका थिए र उनको पहिले कुनै आपराधिक रेकर्ड थिएन।
इजरायलको राष्ट्रिय आपतकालीन प्रतिक्रिया टोलीका एमडीएले बिहीबार दिउँसो राजमार्ग ६५ मा पारदेस हन्ना-कारकुर चौबाटो नजिकै एउटा गाडीले पैदल यात्रीहरूलाई ठक्कर दिएको बताएका छन्।
स्थानीय समय अनुसार साँझ ४:१८ बजेतिर गाडीले धेरै पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो।




