
वीरगञ्ज। भारतको किट विश्वविद्यालयमा शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विद्यार्थीहरूले आज भारतीय महावाणिज्य दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रकृति लम्सालको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले भारतीय विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग पनि अघि सारे।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘प्रकृति लम्साललाई न्याय दे’, ‘नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर’ जस्ता नाराहरू लगाएका थिए। उनीहरूले भारत सरकार र विश्वविद्यालय प्रशासनले घटनाको यथार्थ सार्वजनिक गर्नुपर्ने माग गर्दै छानबिनमा ढिलाइ भए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
प्रकृति लम्साल भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनी केही दिनअघि शंकास्पद अवस्थामा मृत फेला परेपछि घटनाले ठूलो चर्चा पाएको छ। परिवार तथा आफन्तले घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरिरहेका छन्।
विद्यार्थी संगठनहरूले यस घटनामा नेपाल सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कानुनी कारबाही गर्न पहल गर्न आग्रह गरेका छन्।




