
वीरगञ्ज । सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ स्थित जनता नमुना (प्राविधिक) माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विमला कुमारी झाको तलब निकासा प्रकरणले चर्को विवाद निम्त्याएपछि नगर शिक्षा शाखाका प्रमुखसहित तीन जनाको जिम्मेवारी खोसिएको छ ।
शिक्षक झा ‘असाधारण’ बिदाको निवेदन दिएर तीन महिनादेखि अस्ट्रेलियामा बस्दै आएकी थिइन् । तर, विद्यालयको हाजिरी रजिस्टरमा उनको नियमित उपस्थिति देखाइएको मात्र थिएन, दसैँ खर्चसहित चार महिनाको तलबसमेत निकासा गरिएको पाइएको छ । हाजिरी पुस्तिकामा पछि टिपेक्स लगाएर प्रमाण मेटाउने प्रयास भएको समेत खुलेको छ ।
नगर प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीका अनुसार, नगर शिक्षा समितिको बुधवार बसेको बैठकले शिक्षा शाखाका प्रमुख सुबोधकुमार लामोलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । छानबिन पूरा नहुन्जेल उनलाई शाखाको कामकाजबाट अलग राख्दै जिम्मेवारीविहीन बनाइएको छ ।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक भरतप्रसाद साह र लेखा प्रमुख रामेश्वर साहलाई पनि छानबिन सकिएसम्म नगरपालिकामा उपस्थित गराई ठाडो हाजिरीमा राख्ने र तलब–भत्ता रोक्ने निर्णय गरिएको छ ।
छानबिन अवधिभर विद्यालयको प्रशासनिक र आर्थिक व्यवस्थापनका लागि सहायक प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । लेखा कामका लागि भने अन्य शिक्षकमध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाइएको छ ।
शिक्षक झाको साउनदेखि कात्तिकसम्मको चार महिनाको तलब र दसैँ खर्चसहित दुई लाख ९६ हजार ३४५ रुपैयाँ ९५ पैसा निकासा गरिएको पाइएको छ । तलब निकासा प्रकरण विद्यालयकै एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि सार्वजनिक भएको हो ।
नगर प्रमुख पुरीका अनुसार, झाको तलब निकासामा शाखा प्रमुख, प्रधानाध्यापक र लेखा प्रमुखको मिलेमतो हुन सक्ने देखिएकाले तीनै जनालाई जिम्मेवारीबाट हटाइएको हो । पछिल्लो आठ महिनादेखि विद्यालयमा अनुपस्थित रहेकी झाको तलब–भत्ता निरन्तर निकासा गरिनु गम्भीर अनियमितताको सङ्केत भएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि थप कारबाही प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।




