
वीरगञ्ज । प्रतिनिधि सभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सांसद साहले सामाजिक सञ्जालमार्फत अदालतप्रति अपमानजनक टिप्पणी गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो।
बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले साहको फेसबुक पोस्टलाई आधार मान्दै अदालतको प्रतिष्ठा हानि भएको दाबी गर्दै गत शुक्रवार मुद्दा दर्ता गराएका थिए। साहले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए, जसलाई अदालतले गम्भीर रूपमा लिएको छ।
मुद्दामाथि आइतबार रौतहट जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले सांसद साहसहित आजपाका महासचिव त्रिभुवन साहविरुद्ध कारण देखाऊ आदेश जारी गरेको श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए।
उनका अनुसार आदेश जारी भए पनि यसको पूर्णपाठ आउन केही समय लाग्नेछ। इजलासबाट विस्तृत विवरण प्राप्त भएपछि थप जानकारी दिइने उनले बताए। सांसद साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन्।




