
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा गएराति भागदौड मच्चिएको छ। बुधवार बिहान करिब १ः३० बजे भएको भागदौडमा धेरै मानिसहरू हताहत भएको आशङ्का गरिएको छ ।
प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्। यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।

बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।
प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।




