बीरगञ्ज । वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका–२, ज्याम्दीमा रहेको पोखरा–ताङतिङ सडकखण्ड गएरातिदेखि पहिरो का कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका–३, काउलेमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरुद्ध बनेको छ । सिन्धुपाल्चोक को भोटेकोशी गाउँपालिका–२, कोदारीमा अरनिको राजमार्ग पनि पहिरोका कारण गएरातिदेखि नै पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
यस्तै रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलावाङमा रहेको घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँ पालिका–२, डुड्खोलाको सालझण्डी–ढोरपाटन सडकखण्ड हिजोदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।मकवानपुरको थाहा नगरपालिका–८, स्यार्चेडाँडामा कान्तिलोकपथ पनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द रहेको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बीपी राजमार्ग) सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ २२ गतेदेखि गाडी चलाउन रोक लगाइएको छ ।
यसअघि इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षा निरन्तर भइरहेकोले पहिरो तथा बाढीको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।






