वीरगञ्ज,६असार:फिफा विश्वकप फुटबल-२०२६ मा पाँच पटकको च्याम्पियन ब्राजिलले शानदार कमब्याक गरेको छ । पहिलो खेलमा मोरोक्कोसँग बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा शनिबार हाइटीलाई ३-० हराएको हो ।
खेलको शुरूदेखि नै दबाब बनाएको ब्राजिलका लागि फरवार्ड कुन्हा नायक साबित भए ।ब्राजिलका लागि कुन्हाले दुई गोल र भिनिसियस जुनियरले एक गोल गरे ।
खेलको २३औँ मिनेटमा ब्राजिलले खेलमा पहिलो अग्रता लिएको थियो । कुन्हाले प्रहार गरेको बल हाइटीका डिफेन्डर डेलक्रोइक्सलाई लाग्दै पुनः कुन्हाकै शरीरमा ठोक्किएर गोलमा परिणत भएको थियो ।त्यसपछि खेलको ३६औँ मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
खेलको पहिलो हाफको इन्जुरी समय (४५+३ मिनेट) मा ब्राजिलका स्टार विङ्गर भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल ३-० ले अगाडि बढेको थियो । यो यस विश्वकपमा भिनिसियसको व्यक्तिगत दोस्रो गोल हो।
पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । दोस्रो हाफमा हैटीले आक्रामक खेल प्रस्तुत गर्दै गोल फर्काउने प्रयास गरेको थियो ।






