वीरगञ्ज, ०३ जेठ । ‘फ्री भिसा, फ्री टिकट’ को सरकारी नीतिको धज्जी उडाउँदै वैदेशिक रोजगारीमा जाने युवाहरूसँग मोटो रकम असुल्ने म्यानपावर कम्पनीको लुटधन्दाको एउटा रूप पर्दाफास भएको छ । सेक्युरिटी गार्डका रूपमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग नियमविपरीत ३ लाख रुपैयाँ माग गरी बन्धक बनाउने कोटेश्वरस्थित ग्रान्ड स्विट जब म्यानपावरका एजेन्टलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयको सक्रियता र प्रहरीको विशेष स्टिंग अपरेसनका क्रममा तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडिबाट ती कर्मचारीलाई नियन्त्रणमा लिइएको हो । पीडित यादवका अनुसार मलेसियाको रोजगारदाता कम्पनीले भिसा र हवाई टिकट पठाइसकेको भए तापनि म्यानपावरले रकम नबुझाएसम्म कागजात नदिने अडान राखेको थियो । सरकारले मलेसियाका लागि अधिकतम १० हजार रुपैयाँ सेवा शुल्क तोकेको भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको र पछि १० हजार छुट दिने भन्दै ३ लाखमा कुरा मिलाएको थियो । पीडितले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए भने बाँकी २ लाख २० हजार रुपैयाँ नदिएसम्म वैशाख २९ गतेको उनको फ्लाइट रोकेर कागजात बन्धक बनाइएको थियो । म्यानपावरले जेठ ३ गते उडाइदिने सर्तमा बाँकी पैसा लिएर बोलाएपछि पीडित यादव ऋण काढेर काठमाडौँ पुगेका थिए ।रोजगारको प्रलोभनमा ठगिन लागेको भन्दै अजयले आफ्नै निर्वाचन क्षेत्रका श्रममन्त्री रामजी यादवको सचिवालयमा बेलैमा जानकारी गराएका थिए । लगत्तै मन्त्रीका स्वकीय उपसचिव सरोज यादव र तीनकुने वृत्तका प्रहरी अधिकारीहरूको संयुक्त टोलीले जाल झेलेर बसेका एजेन्टलाई पैसा लेनदेनकै क्रममा घेराबन्दी गरी पक्राउ गर्यो । पक्राउ परेका ती कर्मचारीको साथबाट प्रहरीले ४ वटा पासपोर्ट, हवाई टिकट र अन्य महत्त्वपूर्ण कागजात समेत बरामद गरेको छ, जसबाट उनी अन्य युवाहरूलाई पनि यसै गरी ठग्ने दाउमा रहेको देखिन्छ । सुरुमा पैसा लिएर मात्र कागजात दिने अडान कसेका ती एजेन्ट फ्री भिसा, फ्री टिकटको देशमा किन ३ लाख मागेको भन्ने प्रहरीको प्रश्नपछि निरुत्तर भएका थिए ।
प्रहरीको सफल अपरेसनपछि पीडित यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी उनलाई हस्तान्तरण गरिएको छ भने आइतबार उनको मलेसिया उडान सुनिश्चित भएको छ । न्याय पाएपछि खुसी व्यक्त गर्दै पीडित यादवले सुरुमा पैसा लाग्दैन भन्ने तर भिसा आएपछि गरिबलाई धम्क्याएर लुट्ने यस्ता गिरोहलाई कडा कानुनी कारबाही हुनुपर्ने माग गरे । य
ता श्रममन्त्रीको सचिवालयले वैदेशिक रोजगारीका क्रममा यस्ता ठगी वा समस्या आइपरेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अपिल गरेको छ भने पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।






