वीरगंज, २७ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा १२ वटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्किएको प्रहरीले जनाएको छ । आगो फैलिँदा ६ परिवारका नौ वटा घर र तीन वटा गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएका हुन् ।
आगलागीबाट रामअवतार यादवको दुई घर र एक गाईगोठ, जुगाइ यादवको दुई घर र एक गोठ, अनिल यादवको दुई घर र एक गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक/एक घर जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको बारुण यन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट गएको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।






