वीरगंज । नेकपा एमालेले भावी सरकारको नेतृत्वका लागि आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने औपचारिक निर्णय गरेको छ। शनिबार सम्पन्न पार्टी सचिवालय बैठकले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि पार्टी सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै अध्यक्ष ओली नै भावी प्रधानमन्त्री हुने गरी पार्टी अघि बढ्ने स्पष्ट पारे। उनका अनुसार एमालेले पूर्ण बहुमत ल्याउने सम्भावना अझै मजबुत रहेको र त्यसलाई सुनिश्चित गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नेछ।बस्नेतले जस्तोसुकै राजनीतिक परिस्थिति आए पनि लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारीबाट एमाले पछि नहट्ने दाबी गरे। पूर्ण बहुमतको लक्ष्यसहित पार्टी रणनीतिक रूपमा थप सक्रिय हुने संकेतसमेत उनले दिएका छन्।




