विभाजन नभई एकताको यात्रा तय गरौँ- नेपाल प्रेस युनियन

कलैया, ३० पौष। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले विभाजन नभई एकताको यात्रा तय गर्न नेताहरुलाई आग्रह गरेको छ।कांग्रेस केन्द्रीय समिति बैठकले गगन थापा र विश्वप्रकाश शर्मा र फर्मुल्लाह मंसुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टी विभाजनतर्फ अग्रसर भएको छ। त्यसैले युनियनले विज्ञप्ति जारी गर्दै एकताको यात्रा तय गर्न भनेको हो।‘लोकतन्त्रवादी पत्रकारहरूको आस्थाको धरोहर हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हित प्रबर्द्धनका लागि लोकतान्त्रिक शासन व्यवस्था जरूरी छ। बहुदलीय लोकतन्त्रले नै सञ्चार क्षेत्रको सरोकारलाई बुझ्ने चेष्टा राख्दछ भन्ने नेपाल प्रेस युनियको अविचलित मान्यता छ। लोकतन्त्रमा राजनीतिक दलहरू जति सुदृढ हुन्छन्, लोकतान्त्रिक अभ्यास पनि उत्ति नै समृद्ध बन्छ। दलहरूको विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित गर्दैन। नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला गम्भीर आन्तरिक संक्रमणबाट गुज्रिरहेको छ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट विचलित भएर कांग्रेसको विभाजन हुनु लोकतन्त्रका लागि सुखद अनूभूति हुनेछैन,’ युनियनले भनेको छ।“नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ। साथै, नेपाल प्रेस युनियन आवद्ध देशभरका साथीहरुलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न हार्दिक अनुरोध गर्दछ।’” विज्ञप्तिमा उल्लेख छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः