विशेष सूचनाको आधारमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुहरूको चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हिजाे बिहान करिब ७ बजे यस कार्यालय मातहत प्रहरी चौकी गण्डक पर्साबाट खटिएको चेकजाँच टोलीले साइकलमा सवार शंकास्पद अवस्थामा आउँदै गरेका वीरगंज महानगरपालिका–२८ बगही निवासी ४५ वर्षीय राम सुरेश सहनीलाई रोकी चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा सहनीले कम्मरभन्दा माथिल्लो शरीरमा आकासे रङको प्लास्टिकभित्र कालो धागोले सिलाइ गरी सेतो टेपले बेरिएको अवस्थामा लुकाइछिपाइ राखिएको लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजाजस्तो देखिने पदार्थको तौल प्लास्टिक बाहेक ४ केजी ५० ग्राम रहेको प्रहरीले जनाएकाे छ ।




