विपन्न नागरिकका लागि नि:शुल्क कानुनी सेवा दिने अधिवक्ता साहको संकल्प

वीरगञ्ज । पर्सा जिल्लाका स्थायी बासिन्दा अनिल कुमार साहले अधिवक्ताको अनुमति पत्र प्राप्त गरेसँगै समाजप्रतिको आफ्नो उत्तरदायित्व बोध गर्दै विपन्न र आर्थिक रूपमा कमजोर नागरिकका लागि नि:शुल्क कानुनी सेवा प्रदान गर्ने संकल्प गरेका छन् ।

 

हालै नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका साहले न्यायमा सबैको समान पहुँच हुनुपर्ने धारणा व्यक्त गर्दै गरिबीका कारण कोही पनि न्यायबाट वञ्चित हुनु नहुने बताए। “कानुन सबैका लागि समान हुनुपर्छ र गरिबी न्याय प्राप्तिको बाधक बन्नु हुँदैन,” उनले भने, “व्यावसायिक सफलतासँगै मानवीय सेवालाई पनि मैले आफ्नो प्राथमिकतामा राखेको छु।”अधिवक्ता साहले विशेषगरी आर्थिक रूपमा कमजोर, दलित, पिछडिएका वर्ग तथा न्यायमा पहुँच नपुगेका नागरिकहरूको मुद्दा नि:शुल्क रूपमा हेर्ने जानकारी दिए। उनको यो निर्णयले कानुनी पेशालाई केवल आम्दानीको माध्यम मात्र नभई सामाजिक सेवाको सशक्त माध्यमका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।कानुनी क्षेत्रमा नयाँ पुस्ताका अधिवक्ताबाट आएको यस किसिमको सामाजिक प्रतिबद्धतालाई स्थानीयस्तरमा सकारात्मक रूपमा लिइएको छ। सरोकारवालाहरूले साहको कदमले समाजमा न्यायप्रति विश्वास बढाउनुका साथै कानुनी सेवामा मानवीय दृष्टिकोणको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः