वीरगञ्ज, १४ पुस । निःशुल्क कपडा बैंकको आयोजनामा बाराको कलैयामा असहाय, विपन्न तथा गरिबहरुलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको छ।चिसो मौसम बढ्दै गइरहेको अवस्थामा सडकमा आश्रित व्यक्ति, मजदुर, वृद्ध–वृद्धा तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै न्यानो कपडा, ज्याकेट, स्वेटर, पाइन्ट, सर्ट तथा बालबालिकालाई कलैया स्थित भरत चौक क्षेत्रमा कपडा वितरण गरिएको बैंकका संरक्षक साजिर मन्सूरले जानकारी दिएका छन्।कार्यक्रममा बोल्दै निःशुल्क कपडा बैंकका अध्यक्ष मोकद्दम अन्सारीले समाजमा रहेका सम्पन्न व्यक्तिहरूले प्रयोग नगरेका तर प्रयोगयोग्य कपडा सहयोग गरेमा गरिब तथा असहाय वर्गका लागि ठूलो राहत पुग्ने बताए। उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै हालसम्म सहयोग गर्ने सम्पूर्ण दाताप्रति धन्यवाद ज्ञापन गरे।कपडा वितरण कार्यक्रममा स्थानीय युवाहरू, स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपडा पाएपछि लाभग्राहीहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले चिसो मौसममा ठूलो सहारा मिलेको बताएका छन्।
निःशुल्क कपडा बैंकले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै समाजका कमजोर वर्गको जीवन सहज बनाउने उद्देश्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। सो अवसरमा कलैया उपमहानगरपालिका, समुदाय–प्रहरी साझेदारी कार्यक्रम तथा कलैया ज्ञान बाटिका बोर्डिङ स्कुल परिवारले वितरण कार्यमा सहयोग गरेका थिए। निःशुल्क कपडा बैंकका अनुसार आज अन्दाजी २ हजारभन्दा बढी कपडा वितरण गरिएको छ।




