प्रतिनिधि सभा निर्वाचन : मतपत्र छपाइको तयारी पूरा

वीरगञ्ज । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।

 

सोही अनुसार केन्द्रले मतपत्र छपाइका लागि चार वटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्तिसमेत तयारी अवस्थामा राखिसकेको छ । साथै मतपत्र छपाइका लागि आवश्यक कागज, मसीलगायत मेसिनका लागि चाहिने अन्य पार्टपुर्जाको पनि केन्द्रले जोहो गरिसकेको छ ।

 

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो । पौडेलका अनुसार आयोगले निर्देशन दिने बित्तिकै छपाइको काम सुरु हुने छ । केन्द्रले अहिलेको जनशक्ति, छपाइ मेसिन र वार्षिक कार्य योजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुस १६ गतेबाट छपाइको कार्य सुरु गर्ने गरी कार्य योजना बनाउन आयोगलाई अनुरोध गरेको छ ।केही दिनअगाडिकै समय राखेर काम गर्दा छपाइ मेसिनमा अकस्मात् कुनै समस्या आइहालेमा पनि मर्मत गरेर काम गर्न सहज होस् भन्ने चाहना केन्द्रको छ । आयोगले पनि औपचारिक निर्णय नगरे पनि यही मितिको आसपासबाट मतपत्र छाप्ने विषयमा सकारात्मक देखिएको पौडेलले बताउनुभयो । पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगमा ९३ वटा दलले संयुक्त र एक्ला एक्लै निवेदन दिएका छन् । विगतका निर्वाचनलाई हेर्दा प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्नुपर्ने आकलन केन्द्र र आयोगले गरेका छन् । यसरी हिसाब गर्दा समानुपातिकका लागि डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र छाप्नुपर्ने हुन्छ ।

 

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार समानुपातिकको मतपत्र छपाइका लागि २९ दिनको कार्यतालिका बनाइसकिएको र निर्वाचन आयोगको औपचारिक पत्र आउनसाथ काम सुरु गरिने छ । समानुपातिकको मतपत्र छापिसक्दा प्रत्यक्षतर्फको पनि छाप्ने बेला हुने र सोही अनुसार गर्ने योजना बनाइएको छ ।जनक शिक्षाले निर्वाचनको मतपत्रसहित मतदाता परिचयपत्र, सूचनामूलक पोस्टरलगायतका आवश्यक सामग्री छपाइका लागि पनि तयारी गरेको छ । मतपत्र छपाइका लागि करिब २५ करोड रुपियाँ खर्च लाग्ने अनुमान जनक शिक्षाको छ । यसअघि पनि जनक शिक्षाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तथा प्रत्यक्ष निर्वाचनलगायत निर्वाचनका सबै मतपत्र छपाइ गर्दै आएको छ । पछिल्लो समय जनक शिक्षाले नेपाल टेलिकमको पाँच करोड थान रिचार्ज कार्ड छपाइको कार्य पनि गरिरहेको छ । जसमध्ये चार करोड थान छपाइ कार्य सकिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः