कलैयाको मुख्य सडक निर्माणको ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

वीरगञ्ज,२६ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले १४ वर्ष देखि अलपत्र रहेको बाराको सदरमुकाम कलैयाको मुख्य सडकको काम छिटो सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

कलैयाको सडक निरिक्षण गर्दै सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका हुन । उनले हालको ठेकेदार बाट काम हुन नसके तत्काल ठेक्का तोड्ने र नया टेण्डर प्रक्रियामा जाने बताएका छन ।

भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमतअन्तर्गतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्रे गरी साढे तीन किलोमिटर अधुरै छाड्यो । तर त्यसयता हालसम्म १४ वर्षमा बाँकी रहेको कलैया बजार क्षेत्रको साढे तीन किमिमा हालसम्म पनि काम हुन सकेको छैन ।

यस अवधिमा सडक निर्माणका लागि दुई वटा कम्पनीले ठेक्का लिएर छाडिसकेका छन् । सुरुमा २०६८ सालमा भारतीय भिस्वा कन्ट्रक्सन र पछि आशीष/डिएस जेभीले २०७३ कात्तिक ३ मा ठेक्का लिए पनि काम भने हुन सकेन । पछिल्लो कम्पनीले २ वटा प्याकेजमा ठेक्का लिएको थियो । पहिलो प्याकेज २३ करोड ७३ लाख ४२ हजार रुपैयाँ र दोस्रो प्याकेज २२ करोड ४५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

 

सप्तकोशी जलाधार/ओम साइ एण्ड कम्पनीले २०७८ पुस २७ मा साढे तीन किमी सडकको निर्माणको ठेक्का लिएको थियो । कम्पनीले सडकको काम जम्मा १८ प्रतिशत मात्रै भएको छ । हुलाकी मार्ग आयोजना वीरगन्जका सूचना अधिकारी धर्मेन्द्रकुमार दासका अनुसार २२ करोड ३१ लाख ८६ हजार रुपैयाँमा भएको ठेक्कामा ४ करोड १५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

 

जिल्ला प्रशासन कार्यालयका मुआब्जा फाँटका उमेश पटेलका अनुसार आर्थिक वर्ष २०६९/७० देखि हालसम्म १४ सय जग्गाधनीलाई १ अर्ब ४ करोड ९१ लाख ६२ हजार रुपैयाँ मुआब्जा वापत खर्च भइसकेको छ । कलैया उपमहानगरपालिकाले पनि सडकमा धुलो हटाउन नगरवासीको दबाबमा ८ वर्षदेखि सडकमा पानी छर्ने, सडकको खाल्डाखुल्डी (उबडखाबड) मा माटो तथा ग्राभेलको काम गर्दै आएको छ । जसमा पनि ठूलो रकम खर्च भइरहेको छ ।

 

सडकमा धुलो उड्ने समस्या भएपछि ट्यांकरले दैनिक रुपमा पानी छर्किने, सरसफाइ गर्दै आएको र यसमा उपमहानगरपालिकाले बर्सेनि करिब १५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । नगरपालिकको वातावरण तथा विवद् व्यवस्थापन शाखामार्फत उक्त सडक मर्मतमा २ वटा पानीको ट्यांकर सञ्चालन गर्दै आएको छ ।

 

शाखाका एक कर्मचारीका अनुसार यसका लागि मासिक सात सय लिटर डिजेल खर्च हुने गरेको छ । यसबाहेक कहिलेकाही ग्राभेल हाल्ने गरिएको छ । यी सबै खर्च गरेर आठ वर्षमा करिब १ करोड खर्च भइसकेको शाखाको भनाइ छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः