वीरगञ्ज, २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा २ हजार ४ सय ६३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।प्रतिनिधि व्यवस्थापन समितिको आज बसेको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिएका छन् ।पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहने उनले जानकारी दिए ।उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकिएको छ ।




