१३ वर्षीया अंशु हत्या प्रकरण, छिमेकी पक्राउ

वीरगञ्ज : मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर गहन सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । तर, घटनामा उनको संलग्नता छ कि छैन भनेर प्रहरीले अधिकारिक पुष्टि गरिसकेको छैन ।

प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा पदम अधिकारीले अंशुको हत्या गरेको स्वीकार गरेका छन् । तर, प्रहरी अधिकारीहरूले औपचारिक पुष्टि गर्न बाँकी छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनाको संवेदनशीलतालाई ध्यानमा राखेर प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्न हतार नगर्ने बताए ।

अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । करिब दुई हप्तापछि, कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र अत्यन्तै विभत्स अवस्थामा शव फेला परेको थियो । शव टाउको र शरीर छुट्टिएको अवस्थामा, कुहिएको र दुर्गन्धित अवस्थामा भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अंशुको हत्या घरबाट हराएकै दिन गरिएको हुन सक्छ । तर, बलात्कारपछि हत्या भएको हो वा होइन भन्ने विषय हालसम्म यकिन भइसकेको छैन । घटनास्थलमा ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएकोले घटनाले यौनजन्य हिंसाको समेत संकेत गर्ने प्रहरी अधिकारीहरूको भनाइ छ । यद्यपि, यसको वैज्ञानिक पुष्टि भइसकेको छैन ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार अभिभावकसँग रहेको पुरानो रिसइबीका कारण नियोजित रूपमा बालिकाको हत्या गरिएको हुन सक्ने आशंका छ । प्रहरीका अनुसार हालसम्मको अनुसन्धानले घटनामा पदम अधिकारी एक्लैको संलग्नता देखाए पनि विस्तृत अनुसन्धान जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को संयुक्त टोलीले यो घटनामा लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो । शव अत्याधिक कुहिएको अवस्थामा भेटिएकाले फरेन्सिक प्रमाण संकलनमा कठिनाइ आएको र धेरै प्रमाण नष्ट भइसकेको प्रहरीले जनाएको छ । प्रहरीलाई यो घटना अनुसन्धान निकै जटिल र चुनौतीपूर्ण बनेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल स्वयं घटनाको अनुसन्धानमा खटिएका थिए । उनले भने, ‘यो अत्यन्त संवेदनशील र गम्भीर अपराध हो । हामी पोस्टमार्टम रिपोर्ट, डीएनए परीक्षण र फरेन्सिक विश्लेषणका आधारमा मात्रै अन्तिम निष्कर्षमा पुग्छौं । अहिले केही व्यक्तिमाथि सोधपुछ भइरहेको छ । सबै कुरा पुष्टि भएपछि मात्र सार्वजनिक गर्नेछौं ।’

अंशुको शवको सनाखत अभिभावकहरूले गरेका थिए । प्रहरीले डीएनए परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइसकेको छ । त्यसको रिपोर्ट अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । उनका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताएका छन् । उनले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको बताउँदै सत्य तथ्य प्रहरी अनुसन्धानबाट पत्ता लाग्ने बताए ।

प्रहरीले अनुसन्धानका क्रममा अंशुको परिवार, छिमेकी, विद्यालयका शिक्षक, सहपाठी लगायत दर्जनौं व्यक्तिसँग सोधपुछ गरेको थियो । घटनास्थल वरपरका बासिन्दाको बयान, प्राविधिक विश्लेषण र शंकास्पद व्यक्तिहरूको गतिविधिको अध्ययन गर्दै अन्ततः मुख्य अभियुक्तसम्म पुग्न प्रहरी सफल भएको छ । पक्राउ परेका पदममाथि थप अनुसन्धान जारी छ । घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बतायो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः