वीरगन्ज । “साहिब दरबार” वीरगन्जको आयोजनामा र वीरगन्ज सामुदायिक आँखा अस्पतालको सहकार्यमा वीरगन्ज महानगरपालिका २, १६ र २८ का मोतियाविन्दुका बिरामीहरूको हिजो सफलतापूर्वक शल्यक्रिया भएको छ ।
शल्यक्रिया सम्पन्न भएका बिरामीहरूलाई आज औपचारिक रूपमा घरतर्फ विदाइ गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
यसअघि ती वडाहरूमा आँखा परीक्षण शिविर सञ्चालन गरी मोतियाविन्दु पहिचान गरिएको थियो । प्रमुख सिंहका अनुसार स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले विभिन्न संस्थाहरुको सहयोगमा महानगरले समुदायमै पुगेर उपचारका कार्यक्रमहरू लगातार अघि बढाएको छ ।
उनले भने, “मोतियाविन्दुजस्ता उपचारयोग्य समस्याका कारण कसैको दृष्टि गुम्न नपरोस् भन्ने उद्देश्यले हामी सक्रिय छौं। यस प्रकारका स्वास्थ्य कार्यक्रमले जनताको जीवनस्तर उकास्न मद्दत पुर्याउछन्।”




