वीरगञ्ज,१७कात्तिक : रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी दर्ता भएको छ। उजुरीमा आर्थिक अनियमितता, फर्जी बिल बनाएको र सरकारी सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ।
१२ बुँदे आरोपपत्रमा कमिसन लिएको, टुक्रे योजना बनाएको र नक्कली बिल बनाएर भुक्तानी गरेको उल्लेख छ। माधव नारायण ३ का स्थानीय बासिन्दा आशितोषकुमार यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरी अनुसार मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतले मिलेमतोमा नगरपालिकाको बजेट रकममा अनियमितता गरेको आरोप छ।
उजुरीमा कामै नगरी फर्जी बिल भरपाई बनाएर आर्थिक अनियमितता गरेको र विभिन्न शीर्षकमा अस्वाभाविक खर्च गरी सरकारी सम्पत्ति हिनामिना एवं नोक्सानी पुर्याएको दाबीसहित भ्रष्टाचार निवारण ऐन बमोजिम आवश्यक छानबिन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
गोप्य रूपमा प्रशासकीय भवनको टेन्डर २० प्रतिशत कमिसन लिएर उपभोक्ता समितिलाई भुक्तानी दिने गरेको, विकास योजनालाई बढी कमिसनका लागि टुक्रे योजनामा बाँडेर विभिन्न संघ-संस्थालाई कोटेसन दिएर नगरपालिकामाथि आर्थिक भार थुपारेको, सङ्घ र प्रदेश सरकारबाट आएका सशर्त अनुदानको रकममा नक्कली बिल बनाएर भुक्तानी गरेको, सडक बत्ती न्यून दरमा खरिद गरेर १० गुणा बढी रकम भुक्तानी गरेको आरोप सहित निवेदन दर्ता भएको छ।




