वीरगन्जबाट भित्रिन थाल्यो जीटुजीको युरिया

  • भारत सरकारले अन्तर्राष्ट्रिय मल आपूर्तिकर्ता कम्पनी आदित्य बिरलालाई यो कन्साइन्मेन्टको मल आपूर्ति ठेक्का दिएको थियो, उसले तेस्रो मुलुकबाट मल ल्याएको हो

पर्सा — सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गरिएको कृषि सामग्री कम्पनीको युरिया मल नेपाल भित्रिन थालेको छ । नेपाल सरकारले टेन्डर प्रक्रियाबाट नभई भारत सरकारसँग सोझै यो मल किनेको हो ।

कोलकाता बन्दरगाहबाट २ हजार ५ सय टन मल बोकेर आएको यो कन्साइन्मेन्टको पहिलो र्‍याक मंगलबार वीरगन्जको छिमेकी भारतीय सहर रक्सौल रेलवे स्टेसन आइपुगेको हो ।

बुधबारदेखि ट्रकबाट ढुवानी गरी वीरगन्जस्थित कम्पनीको प्रादेशिक कार्यालयको गोदाममा भित्र्याउन थालिएको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जनाए । ‘बुधबार दिउँसो ३ बजेसम्ममा कम्तीमा २५ ट्रक युरिया मल हाम्रो गोदाममा भण्डारण भइसकेको छ,’ उनले भने, ‘रक्सौल र वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा एक/दुई दिनको अन्तरमा मल निरन्तर भित्रिने सम्भावना छ ।’

भारत सरकारले अन्तर्राष्ट्रिय मल आपूर्तिकर्ता कम्पनी आदित्य बिरलालाई यो कन्साइन्मेन्टको मल आपूर्ति ठेक्का दिएको थियो । उसले तेस्रो मुलुकबाट मल ल्याएको हो । नेपाल सरकारले हाल बर्खे धान बाली सिजनलाई लक्ष्य गरी यो मल ल्याएको हो ।

जीटुजीको ३० हजार टन युरियामध्ये कम्पनी मधेश प्रादेशिक कार्यालयले ११ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले १० हजार टन र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल पाउनेछन् । रोपाइँको मुख्य सिजनमै मल भित्रिन थालेकाले यस वर्ष कार्यालयलाई मलको आन्तरिक व्यवस्थापनमा समस्या नहुने पाण्डेको दाबी छ ।

साउन पहिलो सातादेखि आदित्य बिरला कम्पनी आयातकर्ता रहेको अर्को कन्साइन्मेन्टअन्तर्गत डीएपी मल पनि भित्रिने सम्भावना रहेकाले किसानलाई यस वर्ष डीएपी मल पनि समयमै दिन पाइने उनले बताए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः