इरानले बहादुरीका साथ लडेको ट्रम्पको प्रतिक्रिया, रूस-चीनले के भने ?

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सम्मेलनमा इरानले बहादुरीका साथ लडेको बताए।
  • ट्रम्पले इरान तेलको व्यापार गरिरहेकोले आफूले चाहे त्यसलाई रोक्न सक्ने भए पनि त्यसो नगर्ने बताए ।
  • रूस र चीनले आईएईएको भूमिकाप्रति प्रश्न उठाउँदै अमेरिकी भूमिकाको विरोध गरेका छन् ।

१२ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धमा बहादुरी देखाएको बताएका छन् । बुधबार नेदरल्याण्ड्समा भएको नाटो सम्मेलनमा बोल्दै उनले इरानले बहादुरीका साथ लडेको बताएका हुन् ।

ट्रम्पले इरान तेलको व्यापार गरिरहेकोले आफूले चाहे त्यसलाई रोक्न सक्ने भए पनि त्यसो नगर्ने बताए । ट्रम्पलाई इरानमाथिको प्रतिबन्ध हटाउने बारे सोच्नुभएको हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यदि उनीहरू तेल बेच्न चाहन्छन् भने तेल बेच्न सक्छन्। उनीहरूलाई आफ्नो देश पुनर्निर्माण गर्न पैसा आवश्यक छ ।’

उनले थपे, ‘यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने त्यसमा मलाई कुनै आपत्ति छैन।’

ट्रम्पले इरान र अमेरिकाबीच अर्को हप्तामा वार्ता हुने बताए ।

‘हामी कुनै सहमति गर्न सक्छौं। तर म अहिले निश्चित छैन। त्यो जरुरी पनि छैन। उनीहरूले अहिले युद्ध लडे र अब आफ्नो संसारमा फर्किएका छन्,’ ट्रम्पले भने।

अन्त्यमा उनले थपे, ‘मैले पहिले नै भनेको थिएँ, इरानसँग परमाणु हतियार हुन सक्दैन। ती अब समाप्त भइसकेका छन्। हामीले तिनलाई नष्ट गरिदिएका छौँ ।’

यसअघि मंगलबार नाटो समिटमा जानुअघि ट्रम्पले चीनले अब इरानबाट तेल किन्न सक्ने बताएका थिए । यद्यपि उनले चीनले अमेरिकाबाट पनि तेल किन्न सक्ने बताए ।

ह्वाइट हाउसका एक अधिकारीले भने ट्रम्पको भनाइ अमेरिकी प्रतिबन्धहरूमा कुनै छुट दिने संकेत नभएको प्रष्ट पारेका छन् ।

रूसले रोक्यो आईएईएलाई सहयोग

इरानमा अमेरिकी हमलाको जवाफमा रूसले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिंदै आएको सहयोग रोकेको छ ।

यो विभिन्न देशहरूको परमाणु कार्यक्रम निगरानी गर्ने संयुक्त राष्ट्र संघीय संस्था हो ।

रूसले अमेरिकी आक्रमणले आईएईएको साखमा ठूलो नोक्सान पुगेको टिप्पणी गरेको छ । रूसले इरानमा अमेरिकी हमलाको निन्दा पनि गरेको थियो ।

चीनको पनि आपत्ति 

अमेरिकाले इरानका परमाणु स्थलगत केन्द्रहरूमा हालै गरेको आक्रमणपछि चीनका विदेश मन्त्री वाङ यीले इरानी विदेश मन्त्री अब्बास अराघचीसँग वार्ता गरेका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीका बाबजुद परमाणु सुविधाहरूमा गरिएका आक्रमणहरू संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनका उद्देश्यहरूको गम्भीर उल्लंघन हुन्।’

उनले भनेका छन्, ‘यस्ता आक्रमणले आणविक चुहावट वा विपद् निम्त्याउन सक्छन्। अन्तर्राष्ट्रिय समुदायले यसको विरोध गर्नु आवश्यक छ ।’

चीनको विदेश मन्त्रालयबाट जारी आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘चीनले इरानले आफ्नो सार्वभौमसत्ता र सुरक्षा सुनिश्चित गर्न उठाएका कदमहरूको समर्थन गर्दछ। त्यसै उद्देश्यका साथ चीनले एक साँचो युद्धविराम कायम गर्न र मध्यपूर्वको अवस्थालाई सामान्य पार्न पहल गरिरहेको छ ।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः