काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने भएको छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण अवधि आगामी कात्तिकसम्म छ । ठेक्का लिने निकायले भने दसैंसम्म सबै काम सक्ने दाबी गर्दै आएको छ ।
ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छनोट गरेपछि यो सञ्चालनमा आउनेछ । जुन काम पुसभित्र टुंग्याइने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।
उनका अनुसार अहिलेसम्म ९० प्रतिशत निर्माण सकिएको छ । ‘सुरुङभित्रको प्रायः काम सकिसकेको छ,’ उनले भने, ‘धादिङतर्फ सुरुङको मुख अघिल्तिर पहाड सुधारको काम भइरहेको छ, काठमाडौंतर्फ भौतिक संरचना निर्माण पनि जारी छ ।’ बलम्बुको किसिपिडीमा सुरुङमार्ग जाने गरी फ्लाइओभर निर्माण गरिएको छ । यसको निर्माण पनि सकिसकेको पन्थीले बताए । उनका अनुसार काठमाडौंबाट सुरुङमार्ग जाने सवारीसाधनले फ्लाइओभर प्रयोग गर्नेछन् । धादिङबाट काठमाडौंतर्फ
आउने सवारीसाधनका लागि फ्लाइओभर तलबाट छुट्टै सडक बनाइएको छ । त्यस्तै फ्लाइओभरबाट सुरुङमार्गसम्म पुग्ने २.६ किलोमिटरको दुई लेन सडक निर्माण सकिएको छ ।
२०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर काम भने ६७ महिना बित्दा पनि सकिसकेको अवस्था छैन । सुरुमा कोभिड र पछि स्थानीयको अवरोधका कारण समयमै सम्पन्न गर्न ढिला भएको आयोजनाको दाबी छ । पटक–पटक स्थानीयको अवरोधले कामले गति नलिएको उनले सुनाए । ‘अहिले केही समस्या छैन,’ उनले भने, ‘छिटो सक्ने गरी तीव्र गतिमा काम भइरहेको छ ।’




