गृहमन्त्री रमेश लेखकले अब नागरिकता इलाका प्रशासन कार्यालयबाट पनि वितरण गर्न प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । हालसम्म नागरिकता जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण हुने व्यवस्था रहँदै आएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री लेखकले भने, “सदरमुकाम टाढा हुने, आवतजावतमा झमेला र खर्चिलो हुने समस्यालाई मध्यनजर गर्दै नागरिकता लिन गाउँ–नगर नपुग्दा समस्या भोग्नुपरेको छ । त्यसैले सरकार इलाका प्रशासन कार्यालयबाटै नागरिकता वितरण गर्ने तयारीमा छ ।”
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संसदीय समितिमा छलफल भइरहेका बेला मन्त्री लेखकले यो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार, सबै इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको अभाव रहेकोले तत्काल पूर्ण कार्यान्वयनमा चुनौती भए पनि यो दिशा प्रस्ट रहेको बताए ।
गृहमन्त्री लेखकले नागरिकता वितरण प्रक्रिया सहज बनाउन ७७ वटै जिल्लामा मेसिन प्रणाली जडान गरी टोकन पद्धति सुरु गरिएको जानकारी पनि दिए । केही जिल्लामा भने अझै मेसिन नपुगेको र त्यहाँ हातले नाम टिप्ने माध्यमबाट टोकन प्रणाली सञ्चालनमा आएको उनले बताए ।




