बेंगलुरु, भारत
इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) को ऐतिहासिक जितपछि आयोजित विजय यात्रामा बेंगलुरुको चिन्नास्वामी रंगशालामा अत्यधिक भिडभाड र भागदौडका कारण दुःखद घटना घटेको छ। घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने २५ भन्दा बढी घाइते भएका छन्।
रंगशालामा भएको यो विजय उत्सवमा लाखौं समर्थकको सहभागिता थियो। यद्यपि, रंगशालाको क्षमता केवल ३५,००० मात्र रहेकाले सुरक्षाका आवश्यक उपायहरू पूरा हुन नसकेको देखिएको छ। भीड नियन्त्रणको अभावले भगदौड मच्चिँदा मृतक र घाइतेहरूको संख्या बढेको हो।
कर्नाटकका मुख्यमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्,
“म यो घटनालाई कुनै पनि तरिकाले बचाउ गर्न चाहन्न, न त यसमा राजनीति गर्न चाहन्छु। मैले घटनाको गम्भीरता बुझ्दै एक न्यायिक अनुसन्धानको आदेश दिएको छु र १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु।”
सार्वजनिक सुरक्षा र ठूला सार्वजनिक कार्यक्रमहरूको व्यवस्थापनमा पुनः सोच्नुपर्ने आवश्यकता देखिएको छ। मृतकका परिवारप्रति समवेदना प्रकट गरिँदै राज्य सरकारले राहत तथा सहयोगको तयारी गरिरहेको छ।




