इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले बुधबार पुष्टि गरेका छन्।
हुथी विद्रोहीको अल-मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’ को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण भएको जनाएको छ। साना विमानस्थलका निर्देशक खालिद अल-शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम सञ्चालनमा रहेको विमान भएको बताएका छन्।
हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो।
प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजमा आक्रमण गर्दै आएका छन्। हुथीको आक्रमणको बदलामा इजरायलका साथै संयुक्त राज्य अमेरिका र बेलायतबाट प्रतिशोधात्मक हमला भइरहेको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जलले लडाकू विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्। उनले भने, “एयर फोर्सका जेट विमानले सानाको विमानस्थलमा हुथी आतंकवादी संगठनको आतंकवादी लक्ष्यमा आक्रमण गरेका छन् र बाँकी रहेका अन्तिम विमानलाई ध्वस्त पारेका छन्।”
इजरायली सेनाले जारी गरेको वक्तव्यमा हुथी आतंकवादी संगठनले इजरायली राज्यविरुद्ध आतंकवादी हमला गर्ने आतंकवादीहरूको स्थानान्तरणका लागि त्यहाँको विमान प्रयोग गरेको उल्लेख गरिएको छ।
यमनले जारी गरेको विज्ञप्तिमा भने यो विमान साउदी अरबको मक्कामा वार्षिक हज यात्राका लागि जाने मुस्लिम हजयात्रीहरू लान उडानको तयारीका लागि विमानस्थलमा रहेको दाबी गरेको छ।




