महिला हिंसा विरुद्ध सचेतना सभा सम्पन्न

spot_img

वीरगंज ९ जेठ :महिला हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिँदै बिरगंजको जेल रोड अमर चौकमा महिला हिंसा विरुद्ध सचेतना सभा सम्पन्न भएको छ।

आमा नेपाल फाउन्डेसनको आयोजनामा सम्पन्न कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय पर्सा, बिरगंज नर्सिङ क्याम्पस, वडा नं. १६ कार्यालय र क्वेस्ट फर्मास्युटिकल्सले सहकार्य गरेका थिए।

कार्यक्रमको सभापतित्व आमा नेपाल फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरले गरेकी थिइन्। उनले भनिन्,

“महिला हिंसा कुनै पनि अवस्था वा परिवेशमा सह्य हुँदैन। पीडित महिलाहरूले अब मौन बस्नु हुँदैन, आफ्नो अधिकारको रक्षा गर्न सचेत हुन जरुरी छ। समाजमा चेतना फैलाएर मात्रै हिंसाको अन्त्य सम्भव छ।”

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले महिला हिंसाका घटनामा प्रहरी प्रशासनको भूमिकाबारे स्पष्ट धारणा राख्दै भने:

“महिला हिंसा केवल व्यक्तिगत वा पारिवारिक विषय होइन, यो सामाजिक अपराध हो। यस्तो अपराधको सामना गर्न समाजले आवाज उठाउनुपर्छ र प्रहरीलाई सघाउनुपर्छ। प्रहरी प्रशासन पीडित महिलाका पक्षमा दृढ रूपमा उभिएको छ। पीडितले डर, संकोच वा सामाजिक दबाबमा नआई उजुरी गर्न सक्ने वातावरण बनाउन प्रहरी कटिबद्ध छ।”
उनले थप भने, “प्रत्येक नागरिकले महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनु पर्छ। बाल्यकालदेखि नै समानता, सम्मान र आत्मरक्षा सम्बन्धी शिक्षा दिन सकेमा हिंसाका जरा कटौती गर्न सकिन्छ।”

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बिरगंज नर्सिङ क्याम्पसकी प्रमुख कल्पना पौडेलवडा नं. १६ का अध्यक्ष प्रशुराम चौरसियावडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौगाई, तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र पर्साका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहको उपस्थिति रहेको थियो।

त्यस्तै, वडा सदस्यहरू रिता देवी, लाउनी देवी, प्रमोद यादव, स्थानीय अगुवा महिला, युवाहरू, स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले महिला हिंसाका सामाजिक, कानुनी, मानसिक तथा पारिवारिक पक्षहरूबारे गम्भीर छलफल गर्दै हिंसा नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। सहभागीहरूबीच अनुभव आदानप्रदान, ब्रोसर वितरण तथा अन्तरक्रिया पनि गरिएको थियो।

कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागीहरूलाई धन्यवाद दिँदै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाएको थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः