
यूएई र कतारका जेलमा रहेका १८४ नेपालीले पाए आममाफी, प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा, एक्यूआई २०४ पुग्योदेखि एमालेले ४ महिना बित्दा पनि महानगरलाई बुझाएन फोहोरको जरिवानासम्मका खबर आज चर्चामा रहे ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट ‘डिपोर्टेसन सेन्टर’मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।
देशको राजधानी काठमाडौं सहर विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा उक्लिएको छ । मंगलबार साँझ ७ बजे मापन गरिएको काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०४ पुगेको हो । विश्वको वायु गुण्स्तर मापन गर्ने साइट एयर क्वालिटी एयरको अनुसार दोस्रोमा बंगलादेशको राजधानी ढाका र तेस्रोमा भियतनामको राजधानी हनोई रहेको छ । ढाका र हनोईको एक्यूआई १५१ रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन् । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा उनले भाग लिनेछन् ।
सरकारको नेतृत्व गरिरहेको एमालेले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना ४ महिना बितिसक्दा पनि बुझाएको छैन । २०८१ मंसिर ७ मा एमालेले दरबारमार्गमा जागरणभसा आयोजना गर्ने क्रममा सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । तर एमालेले अहिलेसम्म नतिरेको महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
मलेसियाको सरकारी ऊर्जा फर्म पेट्रोनासद्वारा सञ्चालित ग्यास पाइपलाइनमा मंगलबार आगलागी हुँदा कम्तीमा एक सय जना मानिस घाइते भएका छन् । घाइतेमध्ये ६० जनालाई अस्पताल भर्ना गरिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । तीमध्ये अधिकांश जलेका, सास फेर्न समस्या भएका तथा चोटपटक लागेको जनाइएको छ । विस्फोटका कारण कम्तीमा ४९ घरमा क्षति पुगेको अग्नि नियन्त्रकहरूले बताएका छन् ।




