डेढ खर्बको निर्यात, खाने तेल मात्रै साढे ५६ अर्बको

  • चालु आर्थिक वर्षको ८ महिनामा आयात व्यापार ११.२० प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५६ करोड र निर्यात व्यापार ५७.२० प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुग्यो
  • आयात–निर्यातसँगै व्यापार घाटा ६.२२ प्रतिशतले बढेर ९ अर्ब ८७ अर्ब ३९ करोड पुग्यो

काठमाडौँ — खाने तेलको निर्यात अस्वाभाविक बढेको देखिएको छ । निर्यातमा भन्सार छुट र अग्रिम भुक्तानी सुविधाले तेल निर्यातले छलाङ मारेको हो । चालु आर्थिक वर्षको ८ महिनामा डेढ खर्बको वस्तु निर्यात हुँदा तेलको हिस्सा मात्रै साढे ५६ अर्ब रुपैयाँ रहेको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकमा उल्लेख छ ।

आठ महिनामा १ खर्ब ५८ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढी हो । २०८०/८१ को पहिलो ८ महिनामा १ खर्ब ६१ करोडको वस्तु निर्यात भएको थियो । त्यो बेला डेढ अर्बको खाने तेल निर्यात भएको थियो । अहिले भने तेलको निर्यातले छलाङ मारेको छ । ८ महिनामै ५६ अर्ब ३९ करोडको खाने तेल (भटमास, सूर्यमुखी, पाम) निर्यात भएको छ ।

नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा थप २० प्रतिशत बिन्दुले बढाएको छ । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ । नेपालमा भने भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पाउँछन् । त्यही कारण उद्योगीहरूले निर्यातमै जोड दिएको बताइएको छ ।

उद्योगीहरूले तेस्रो मुलुकबाट आयात गरी केही मात्रामा रिफाइन गरेर तेल निर्यात गर्दै आएका छन् । स्वदेशी उत्पादनले स्वदेशकै माग नधानेपछि अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात गर्छन् । आयातित कच्चा पदार्थ रिफाइन गरेर तेल निर्यात गरिएको नेपाल वनस्पति घिउतेल उद्योग संघका निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले जनाए ।

चालु आर्थिक वर्षको ८ महिनामा साढे ७५ अर्बको कच्चा खाने तेल आयात भएको छ । यसमध्ये सबैभन्दा धेरै ५१ अर्ब ३५ करोडको सोयाबिन (कच्चा) तेल छ । २० अर्ब २६ करोडको सनफ्लावर, ३ अर्ब ८५ करोडको पाम तेल (कच्चा) आयात भएको भन्सारले जनाएको छ । आयातित कच्चा पदार्थमध्ये ५६ अर्ब ३९ करोडको निर्यात भएको छ । सबैभन्दा धेरै सोयाबिनको तेल ४७ अर्ब ९४ करोडको निर्यात भएको छ । ७ अर्ब ९८ करोडको सनफ्लावर तेल र साढे ४६ करोडको पाम तेल निर्यात भएको विभागले बताएको छ ।

मुलुकभर तेलहन (भटमास, तोरी, आलस, सूर्यमुखीलगायत) २ लाख ५९ हजार हेक्टरमा खेती हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । यसबाट वार्षिक ३ लाख टन (कच्चा पदार्थ) उत्पादन हुन्छ । स्वदेशी उत्पादनले स्वदेशी बजारलाई धान्दैन । निर्यातका लागि कच्चा पदार्थ आयात नै गर्नुपर्ने उद्योगीहरूको दाबी छ । आयातित कच्चा पदार्थ रिफाइन गरेर केही तेल स्थानीय बजारमै बिक्री गर्ने गरिएको छ । केही निर्यात गर्ने गरेको संघको दाबी छ । पुसयता भटमास र सनफ्लावर तेलको मूल्य लिटरमै २० रुपैयाँले बढेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले जनाए ।

आठ महिनामा कुल वैदेशिक व्यापारको आकारसमेत बढेको छ । फागुनसम्म १३ खर्ब ३ अर्ब ७३ करोडको वैदेशिक व्यापार भएको छ । गत वर्ष फागुनसम्म ११ खर्ब ३० अर्ब ८४ करोडको वैदेशिक व्यापार भएको थियो । ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढी हो । चालु वर्षको साउनदेखि फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोडको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ११.२० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोडको वस्तु आयात भएको थियो ।

आयातमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । ७८ अर्ब ८६ करोडको डिजेल, ४२ अर्ब ८० करोडको पेट्रोल, ४१ अर्बको खाना पकाउने ग्यास र १२ अर्ब ७१ करोडको हवाई इन्धन आयात भएको भन्सार विभागको तथ्यांक छ । दोस्रोमा कच्चा खाने तेलकै आयात छ । ८ महिनामा २१ अर्ब ९१ करोडको स्मार्टफोन, १६ अर्ब ६३ करोडको धान, १४ अर्ब ३७ करोडको सुन र १२ अर्ब १६ करोडको मकैलगायत वस्तु आयात भएका छन् ।

आठ महिनामा खाने तेलपछि ७ अर्ब २१ करोडको कार्पेट निर्यात भएको छ । ५ अर्ब ८४ करोडको अलैंची, ३ अर्ब ५८ करोडको स्टिल तथा आइरन, ३ अर्ब ४५ करोडको जुट, ३ अर्ब ४१ करोडको धागो, ३ अर्ब ३१ करोडको जुस, ३ अर्ब २१ करोडको चियालगायत वस्तु निर्यात भएको छ । यस अवधिमा नेपालले ३४ मुलुकसँग नाफा र १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः