वीरगञ्ज,३असाेज:बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटेलमा आज(शनिबार) दिनदहाडै चक्कुले घाटी रेटेर एक जनाको हत्या गरिएको छ ।
सिमरास्थित जगदम्बा स्टिल उद्योग नजिकैकाे सम्झना स्टाफ होटेलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको हत्या गरिएको हो ।खड्कालाई हत्या गर्नेको नाम खुल्न सकेको छैन । होटलमा बसिरहेका बेला खड्कामाथी एक युवकले चक्कुले रेटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
चक्कुले घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगन्ज पुर्याइएपनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक(डीएसपी) दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । उनले घटनामा संलग्नहरू फरार रहेकोे जानकारी दिए ।
खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।






