माछा कारोबारमा एकाधिकार जमाउन खोजेको आरोप, अभद्र व्यवहार मुद्दामा रास्वपा वडा सभापति साह पक्राउ

spot_img

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति प्रकाश साह अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

मनिषगुप्तासहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले साहलाई पक्राउ गरेको हो। पक्राउ परेका साहलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।

जाहेरीकर्ता गुप्ताका अनुसार साहले आफू वीरगञ्जको स्थानीय बासिन्दा भएको दाबी गर्दै वीरगञ्ज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने भन्दै गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप छ।

गुप्ताले साहले आफूलाई स्थानीय भएको प्रभाव देखाउँदै माछा कारोबारमा अरूलाई रोक लगाउने किसिमको अभिव्यक्ति दिएको दाबी गरेका छन्।

घटनापछि परेको जाहेरीका आधारमा प्रहरीले साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। प्रहरीले घटनासँग सम्बन्धित तथ्य, जाहेरीमा उल्लेख गरिएका आरोप तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरी अनुसन्धानबाट घटनाको वास्तविकता थप स्पष्ट हुने बताइएको छ। पक्राउ परेका साहमाथि लागेको आरोप पुष्टि वा खण्डन भने अनुसन्धान तथा कानुनी प्रक्रियाबाटै हुने प्रहरीले जनाएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः