वीरगञ्ज ।क्लार्क रिसोर्ट गण्डकस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा पर्सा प्रहरीले शनिबार राति छापा मारी जनप्रतिनिधि, प्रहरी अधिकृत र क्यासिनो कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ। नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश र जुवा खेल्न पूर्ण प्रतिबन्ध रहे पनि अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा राति करिब १०:३० बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने जुवाडेहरूमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज–११ स्थित निम्बसका ३९ वर्षीय कर्मचारी ओम प्रकाश बैठा र इलाका प्रहरी कार्यालय पोखरियाका ३६ वर्षीय प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन्। साथै, उनीहरूलाई प्रवेश गराउन सघाएको आरोपमा क्यासिनो कर्मचारीहरू विजय कुमार पटेल, दिनेश कुमार पटेल, प्रदेशी साह र जयदेव साहलाई पनि घटनास्थलबाटै पक्राउ गरिएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।







