एनप्याब्सन पर्साद्वारा शिक्षकहरूको लागि गणित शिक्षण अभिमुखीकरण

वीरगञ्ज । नेशनल प्याब्सन (एनप्याब्सन) पर्साको आयोजनामा गणित शिक्षकहरूका लागि एकदिने गणित शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वेदान्ता पब्लिकेसन्सको सहकार्यमा वीरगञ्जको क्लासिक बैंक्वेटमा सम्पन्न अभिमुखीकरणमा गणित विषयको पठनपाठन विधिलाई प्रभावकारी बनाउने उपायहरूबारे प्रशिक्षण दिइएको थियो ।

नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले भने, “गणित जस्तो विषयको शिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । शिक्षकहरूले विद्यार्थीसँग घुलमिल हुने र उनीहरूको रुचिलाई केन्द्रमा राखेर अध्यापन गर्ने विधिहरूको प्रयोग गर्नुपर्छ ।”

एनप्याब्सन पर्साका अध्यक्ष श्रेष्ठले शिक्षकहरूको भूमिकाले विद्यार्थीहरूको जीवन निर्माणमा महत्वपूर्ण योगदान पु-याउने धारणा राखे । उनले थपे, “गणितलाई सरल र रमाइलो बनाउने प्रयास शिक्षकहरूले गर्ने हो । यस्तो तालिमले शिक्षण विधिलाई प्रभावकारी बनाउने मात्र नभई, शिक्षामा नवीन दृष्टिकोण थप्नेछ ।”

कार्यक्रममा प्रशिक्षक हुकुम प्रसाद दाहालले गणित शिक्षणका विभिन्न पक्षहरूबारे प्रशिक्षण दिएका थिए । उनले आधारभूत गणितीय अवधारणालाई सहज तरिकाले प्रस्तुत गर्ने, विद्यार्थीहरूको समस्यालाई सम्बोधन गर्ने, प्राविधिक उपकरणहरूको प्रयोग गरी गणितलाई आकर्षक बनाउने विधिहरूमा प्रशिक्षण दिएका थिए । साथै, विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकास गर्ने उपायहरूबारे पनि उनले प्रकाश पारे ।

कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका १०२ जना शिक्षकहरूको सहभागिता रहेको थियो । गणित शिक्षणमा सुधार गर्दै विद्यार्थीहरूलाई यो विषयप्रति रुचि जागृत गर्न तालिम प्रभावकारी भएको सहभागि शिक्षकहरुको प्रतिक्रिया छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः