वीरगञ्ज, २२ फागुन – गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८ बाट स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका नरेश प्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उक्त निर्वाचनमा उनले उल्लेखनीय जनसमर्थनसहित सम्मानजनक मत प्राप्त गर्दै स्थानीय राजनीतिमा आफ्नो प्रभाव देखाएका थिए।
सोमबार वीरगञ्जमा आयोजित एक अनौपचारिक कार्यक्रमबीच पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले नरेश यादवलाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, एमाले नेता ईश्वरचन्द्र यादव लगायत स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवप्रवेशी यादवलाई फूलमाला, टीका तथा खादा ओढाएर भव्य स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रदीप यादवले नरेश यादवजस्ता लोकप्रिय र इमानदार व्यक्तित्वको पार्टी प्रवेशले वडा नं. १८ मा एमालेको संगठन थप सुदृढ भएको बताए।
“स्थानीय तह निर्वाचनमा सम्मानजनक मत ल्याउन सफल नरेश यादवको पार्टी प्रवेशले हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ। अब वीरगञ्ज–१८ एमालेको बलियो आधार क्षेत्रका रूपमा स्थापित हुनेछ,” उनले भने। साथै उनले नरेश यादवको अनुभव र जनसम्पर्कले वडाको विकास, जनताको सेवा र पार्टी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै नरेश प्रसाद यादवले एमालेको नीति, सिद्धान्त र विकास दृष्टिकोणबाट आफू प्रभावित भएको बताए। “वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवा गर्ने मेरो लक्ष्य अब संगठित रूपमा अघि बढ्नेछ। पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नेछु,” उनले प्रतिबद्धता जनाए।
नरेश यादवको प्रवेशसँगै वीरगञ्ज–१८ मा एमालेको संगठनात्मक आधार थप मजबुत बनेको स्थानीय नेताहरूको दाबी छ। कार्यकर्ताहरूले यसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।




