बीरगंज, बालेन शाहसम्बन्धी समाचार संकलनका क्रममा पत्रकार कप्लेश अधिकारीमाथि एमालेका कार्यकर्ताले गरेको आक्रमण लोकतन्त्रको चौथो अंगमाथि गरिएको नाङ्गो, कायर र निन्दनीय हमला हो। सत्य उजागर गर्ने पत्रकारमाथि कुटपिट र धम्कीको शैली अपनाइनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप मात्र होइन, कानूनको शासनमाथि खुलेआम चुनौती हो।
लोकतान्त्रिक समाजमा असहमति विचार र तर्कबाट व्यक्त गरिन्छ, लाठी र गुन्डागर्दीबाट होइन। समाचार संकलनको वैधानिक काममा संलग्न पत्रकारमाथि आक्रमण गर्नु अराजकता र दण्डहीनताको चरम उदाहरण हो। यस्ता घटनाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने, डरको वातावरण सिर्जना गर्ने र जनताको सूचनाको अधिकार खोस्ने खतरनाक संकेत दिन्छ।
यस कायर आक्रमणमा संलग्न जो–कोहीलाई राजनीतिक संरक्षण बिना तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिन्छ। साथै, पत्रकारको सुरक्षा सुनिश्चित गर्न राज्य असफल भए लोकतन्त्र स्वयं कमजोर हुने स्पष्ट सन्देश पनि दिन चाहन्छौं। दोषीलाई उन्मुक्ति होइन, उदाहरणीय सजाय—यही आजको अपरिहार्य आवश्यकता ।।




