वीरगञ्ज,२४पुसःरौतहटको गढीमाई नगरपालिकामा बुधबार एकैदिन ४८ भन्दा बढी मानिसलाई कुकुरले टोकेर घाइते बनाएका छन्।
कुकुरको टोकाईबाट बालबालिका, बृद्धबृद्धा र महिलाहरु घाइते भएका हुन्। घाइते मध्ये टाउकोमा चोट लागेका ५ जनाको वीरगन्जमा उपचार भइरहेकोे छ। कुकुरको टोकाईबाट घाइते भएकाहरुलाई एन्टी रेबिज भ्याक्सिन (एआरभी) दिइएको प्रादेशिक अस्पताल गौरका प्रमुख डा. मुरारी ठाकुरले बताए।
टाउकोको भाग चोट लागेर सम्वेदनशील देखिएका बिरामीलाई बाहिर पठाएको डा. ठाकुरले बताए ।कुकुरले टोकेर घाइते भएकाहरुबारे ठाकुरले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई समेत जानकारी गराएका थिए। गौर अस्पतालका अनुसार बौलाहा कुकुरको टोकाईबाट घाइते ४८ जनामध्ये ५ जनालाई वीरगन्ज रेफर गरिएको र ४३ जनालाई एआरभी दिइएको छ।
गढमाई नगरपालिकाको १, ४, ६ र ८ नम्बर वडामा बाटोमा हिँड्ने, घरमा बसेका बालबालिका, बृद्धबृद्धा, महिलाहरुलाई झम्टेर टोकेको थियो । अधिकांशको गाला, हात र टाउकोमा चोट लागेको गौर अस्पतालले जनायो।
बौलाहा कुकुरको आक्रमण बढेपछि स्थानीयमा त्रास फैलिएको छ। गढीमाई नगरपालिकाका मेयर श्याम यादवले बौलाहा कुकुर नियन्त्रण गर्न प्रहरी समक्ष अनुरोध गरेको बताए। ‘बालबालिकालाई विद्यालय पठाउन र बृद्धबृद्धालाई घरबाहिर निस्कन त्रासको अवस्था सिर्जना भएको छ,’ उनले भने,‘हामीले सबैलाई सचेत गराएका छौं ।




