ठोरीमा घर र खेतबाट ठूलो परिमाणमा गाँजा बरामद, आरोपी फरार

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध गाँजा जस्तो देखिने पदार्थ १ सय ५७ किलो ९५० ग्राम बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका–३, ब्रहमनगर क्षेत्रमा छापा मारेर उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो।

 

प्रहरीका अनुसार पुस २२ गते राति करिब १० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले ब्रहमनगर हुलाकी सडकखण्डबाट पश्चिमतर्फ जाने कच्ची सडक छेउमा रहेको ४२ वर्षीय छिरिङ दोङको काठले बनेको दुई तल्ले घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो। सो क्रममा घरको माथिल्लो तल्लाको कोठाभित्र निलो प्लास्टिकले बेरि लुकाइ राखिएको ९५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।त्यसैगरी, सो घरबाट करिब १५ मिटर उत्तरतर्फ रहेको बाझो खेतमा उखुको पातले छोपेर रातो रंगको प्लास्टिकले बेरि लुकाइ राखिएको १० पोकामा रहेको १ सय ५७ किलो गाँजा जस्तो देखिने पदार्थ पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।लागू औषध भण्डारण तथा बिक्री वितरणका उद्देश्यले राखिएको आशंकामा घरधनी छिरिङ दोङ फरार रहेको र उनको खोजतलास तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद गरिएको गाँजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीले जानकारी दिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः