वीरगञ्ज, ०५ पुस । बारामा अझैपनि घरेलु हिंसाका घटनाहरुमा कमी नआएको पाइएको छ । प्रहरी कार्यालयमा चालु आर्थिक बर्षको पहिलो ५ महिनाको अवधिमा ८० वटा घरेलु हिंसाका उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२/०८३ को साउनदेखी मंसिरसम्म प्रहरीमा ८० वटा घरेलु हिंसाका उजुरी परेको जनाएको छ । तथ्याङ्क अनुसार बारामा रहेको १६ स्थानीय तह मध्ये सबभन्दा बढी कलैया उपमहानगरपालिकामा घरेलु हिंसाका घटना घटेको देखिन्छ ।
कलैया उपमहानगरपालिकामा मात्र १५ वटा घरेलु हिंसाका घटना घटेको प्रहरीले जनाएको छ। जीतपुरसिमरा उपमहानगरपालिकामा १० वटा, महागढीमाई नगरपालिकामा ८, पचरौता नगरपालिकामा ७, सिम्रौैनगढ नगरपालिकामा ५ , सुवर्ण गाउँपालिकामा ५ , प्रसौनी गाउँपालिका र विश्रामपुर गाउँपालिकामा ४/४ वटा, कोल्हवी नगरपालिकामा २ वटा घरेलु हिंसाका घटना घटेको तथ्याङ्कमा उल्लेख छ ।
फेटा गाउँपालिकामा ३ वटा , करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकामा २/२ वटा र परवानीपुर गाउँपालिकामा भने एउटा मात्र महिला हिसांका घटनाको उजुरी परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसैगरी जिल्लको निजगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिकामा यो आर्थिक बर्षको मंसिरसम्ममा घरेलु हिंसाको घटना शुन्य रहेको पाइएको छ । घरेलु हिंसाका उजुरीहरु मध्ये हाल सम्म ५१ वटा उजुरी उपर मिलापत्र गराईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६ बमोजिम जुनसुकै व्यक्तिले घरेलु हिंसा भइरहेको र भएको विषयमा प्रहरीमा उजुरी दिन सक्ने कानुनी व्यवस्था छ। उजुरीकर्ता र आरोपितबीच सहमति भएपछि मुद्दा टुंगिने गरेका छन्। कतिपय उजुरीकर्ता नै आरोपित पक्षसँग कागजी सहमति गरेर मेलमिलापमा जान इच्छुक हुने भएकाले सहमति हुने गरेको प्रहरी अधिकारी बताउछन्।




