वीरगञ्ज, १८ कात्तिक। बाराको सदरमुकामलाई छुने मानवत मटिअर्वा सडकखण्ड निर्माणको लागि दबाब स्वरुप सुरु गरिएको हस्ताक्षर अभियान स्थगित भएको छ। १४ वर्षदेखि निर्माणको पर्खाइमा रहेको साढे ३ किलोमिटर अधुरो सडकखण्ड निर्माणको लागि युवाहरुले झण्डै दुई हप्तादेखि हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।अधुरो बाटोको निर्माण कार्य सुरु भएको भन्दै युवाहरुले सोमबार समाजिक सञ्जालमा सुचना प्रकाशित गर्दै उक्त अभियान स्थगित भएको र हस्ताक्षर गर्न छुटेकालाई सम्पर्क गरी हस्ताक्षर गर्न सकिने जनाएका छन्।उक्त अभियानमा अहिलेसम्म झण्डै ६ हजार जनाले हस्ताक्षर गरी सहयोग गरेको युवा अभियन्ता सौरभ चौगाईंले बारा अपटेडलाई जानकारी दिए। उनले बारा अपडेटसंग कुराकानी गर्दै भने, “अहिलेसम्म लगभग ६ हजार जनाले हस्ताक्षर गर्नुभएको छ। अहिले बाटोको निर्माण कार्य सुरु भएकोले हामी उक्त अभियान स्थगित गरेका छौँ।”
यस्तै, ‘अब हाम्रो टिम सडक निर्माणको अनुगमन, विभिन्न निकायहरुसङ समन्वय र बाटो निर्माणमा आउन सक्ने बाधा व्यवधानमा केन्द्रित हुनेछ भने चाडै यो हस्ताक्षर हामी भौतिक पुर्वाधार मन्त्री कुलमान घिसिङलाई भेटेर बुझाउनेछौं।’ चौगाईले भने। साथै उनले बाटो निर्माणमा सहयोग र निरन्तर अनुगमन गर्न सबै स्थानीय वासीसंग आग्रह गरे ।
भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा मानवत मटिअर्वा सडकखण्ड अन्तर्गतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्रे गरी कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर अधुरै छाडेको थियोे । तर त्यसयता हालसम्म १४ वर्षमा बाँकी रहेको कलैया बजार क्षेत्रको साढे ३ किमिमा हालसम्म पनि काम हुन सकेको थिएन।
निर्माण कम्पनीले भने आइतबारदेखि कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित तिनकुने चोकमा रात्रीकालिन काम सुरु गरेको छ ।





