नवलपरासीमा भएको जेनजी प्रदर्शनमा भएको आगजनीबाट २० वटा सरकारी गाडी जलेर नष्ट भएको छ। प्रदर्शनका क्रममा २७ वटा सरकारी संरचनामा आगजनी र तोडफोड भएको छ।जिल्लामा भएको क्षति विवरण संकलन गर्न गठन भएको क्षति मूल्यांकन समितिले जिल्लाभर स्थानीय तहसहित अन्य सरकारी कार्यालयमा संकलन गरेको विवरणमा ३० वटा सवारी साधनमाथि क्षति भएको जनाएको छ। कार्यालयमा कर्मचारीले राखेका २ वटा निजी मोटरसाइकल पनि जलाएर नष्ट बनाइएको छ। अन्य ९ वटा सवारी साधनमाथि तोडफोड भएको छ। नष्ट भएका सवारी साधनमा रामग्राम नगरपालिकाको १ गाडी र २ मोटरसाइकल, सुस्ता गाउँपालिकाको १ गाडी, सरावल गाउँपालिकाको २ मोटरसाइकल, बर्दघाट नगरपालिकाको ५ वटा मोटरसाइकल रहेका छन्। त्यसैगरी प्रतापपुर गाउँपालिकाको गाडी र ३ वटा मोटरसाइकललाई जलाएर नष्ट बनाइएको छ। जिल्ला समन्वय समितिमा २ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्। जसमा एक जना कर्मचारीको रहेको छ।
सरकारी वकिल कार्यालयको १ गाडी र १ मोटरसाइकल तथा त्यहाँ राखिएको कर्मचारीको १ मोटरसाइकल पनि जलेर नष्ट भएको छ भने करदाता सेवा कार्यालयका २ मोटरसाइकल पनि जलाएर नष्ट बनाइएको छ। तोडफोड भएका सवारी साधनमा बर्दघाट नगरपालिकाको दमकलसहित ७ वटा सवारी साधन र पाल्हीनन्दन गाउँपालिकाको टेक्टरमा तोडफोड गरी क्षतिग्रस्त बनाइएको छ। प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयमा राखिएको नेपाली सेनाको गाडीसमेत क्षतिग्रस्त भएको छ।
सरकारी कार्यालयअन्तरगत जिल्लामा भूमि समस्या समाधान आयोग, राष्ट्रिय आवास कम्पनी, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, बासा र परासीस्थित प्रहरी बिट, कारागार कार्यालय, सरावलस्थित २ वटा अतिरिक्त हुलाक कार्यालय र केही वडा कार्यालयमा पनि तोडफोड र आगजनी भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा गठित समितिले शनिबारदेखि विवरण संकलन गर्न सुरु गरेको हो। समितिले पहिलो चरणमा स्थानीय तह र सरकारी कार्यालयको विवरण संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए।
व्यक्ति र अन्य संस्था तथा प्रतिष्ठानहरूमा भएको क्षतिका लागि सम्बन्धित पालिकाको रोहबरमा स्थानीय प्रहरीले मुचुल्का तयार गरी विवरण संकलन गरिरहेको उनले जानकारी दिए। त्यसका लागि सम्बन्धित पीडितसँग निवदेनसमेत माग गरिएको छ। भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लामा झन्डै ६३ वटा तोडफोड र आगजनीका घटना भएका छन्।




