वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका अनुसार कार्कीले आज राति ९ बजे शपथग्रहण गर्नेछिन् ।
निर्णय जेनजी आन्दोलनकारीहरूको माग र राष्ट्रपति, प्रधानसेनापति अशोकराज सिग्देल र कार्कीबिचको छलफलपछि संसद् विघटन गर्ने सहमति जुटेपछि भएको हो ।
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शपथ समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । गृह मन्त्रालयसहित सम्बन्धित निकायका कर्मचारीहरूलाई शुक्रवार बिहानदेखि नै तयारी अवस्थामा राखिएको छ। राष्ट्रपति पौडेलले राति ९ बजेअघि संसद् विघटनको प्रक्रिया पूरा गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
जेनजी पुस्ताको भदौ २३ र २४ को आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो । जेनजी समूहले संसद् विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखेका थिए ।
बिहीबार रातिसम्म चलेको छलफलमा राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतसँग परामर्श गरेका थिए ।
जेनजी प्रतिनिधिहरूले बिहीबार राति १० बजे कार्कीलाई फोन गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए । कार्कीले कानुनी प्रक्रिया सहज भएमा नेतृत्व लिन तयार रहेको बताएकी थिइन् । त्यसपछि जेनजीले प्रधानसेनापतिमार्फत समन्वयको आग्रह गरेका थिए ।
बिहीबार राति नै राष्ट्रपति पौडेल, प्रधानसेनापति, कार्की र कानुनी सल्लाहकार बाबुराम कुँवरबिच छलफल भएको थियो । राष्ट्रपतिले संविधानविद्हरू विपिन अधिकारी, भीमार्जुन आचार्य लगायतसँग पनि नयाँ सरकार गठन र संसद् विघटनको कानुनी पक्षबारे परामर्श गरेका थिए ।
संविधानविद्हरूले सङ्कट व्यवस्थापनका लागि राष्ट्रपतिले संविधानको संरक्षकको भूमिकामा प्रधानमन्त्री नियुक्त गर्न सकिने सुझाव दिएका थिए ।
नियुक्तिसँगै नेपालको राजनीतिक सङ्कट समाधानको दिशामा महत्त्वपूर्ण कदम चालिएको जेनजी पक्षधरहरूको भनाइ छ । कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम सरकारले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।




