राष्ट्रपतिसमक्ष बारको अपिल– संवैधानिक वैधताको निरन्तरता कायम गरी राष्ट्रिय सरकार गठन गरियोस्

spot_img

वीरगञ्ज : नेपाल बार एशोसिएशनले संवैधानिक वैधताको निरन्तरता कायम गरी राष्ट्रिय सरकार गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अपिल गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै बारले आन्दोलनकारी शक्तिहरूले सरकार परिवर्तनको इच्छा राखेको र सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकाले संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनाभित्र रहेर सरकार गठन गर्न आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, संविधान सभाले बनाएको संविधान मौजुदा रहेको प्रतिनिधि सभासहितको संघीय संसद् क्रियाशील नै रहेको र आन्दोलनकारी शक्तिको माग समेत संविधान र व्यवस्थाको परिवर्तन नभएको स्थापित तथ्य रहेको परिप्रेक्षमा संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताको लागि सम्माननीय ज्यूबाट यथाशक्य संवैधानिक कर्तव्य निर्वाहको लागि हार्दिक अनुरोध गर्दछौँ।संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका पक्षधर अग्रणी नागरिक संस्था हुनुको कारणले संवैधानिक वैधता र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया नेपाल बार एशोसिएशनलाई मान्य नहुने र ती मूल्य मान्यता विपरीत कार्य भएमा प्रतिरोध गर्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेका र संविधानमा लिपिबद्ध भएका मूलभूत उपलब्धिहरूमाथि कुनै पनि किसिमको सम्झौता गरिनु हुँदैन। यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्र प्रमुखको रूपमा सम्माननीय राष्ट्रपति ज्यूबाट राख्न हार्दिक अनुरोध गर्न चाहन्छौँ।

देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन र जनतामा विश्वास जगाउनका लागि संविधानको मर्मभित्र रहेर  संवैधानिक प्रक्रिया बमोजिम राष्ट्रिय सरकारको गठन गर्न बारेले आग्रह गरेको हो।  युवा पुस्ताको परिवर्तन प्रतिको चाहना र भ्रष्ट्राचारविरुद्ध एवं राजनीतिमा पुस्तान्तरण हुनु पर्ने मागप्रति आफ्नो ऐक्यबद्धता रहेको बारेले स्पष्ट पारेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः