वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, निर्यात १ खर्ब १ अर्बको मात्रै

वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१-८२ मा ६ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत आर्थिक वर्षमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै १ खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल ५७ अर्ब ६८ करोडको रहेको छ । वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आर्थिक वर्षमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । ‘गत आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेखीय सुधार भएको देखिन्छ,’ उनले भने, ‘अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुन सक्छ ।’

गत आर्थिक वर्षमा मेसिनरी तथा तिनका पार्टपुर्जा ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।

गत आर्थिक वर्षमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । १ खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो नाका हुँदै ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा  सामान निर्यात गरिएको थियो । सो आर्थिक वर्षको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात् ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल रहेको छ । गत आर्थिक वर्षमा ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो । जबकि अघिल्लो आर्थिक वर्षमा ९ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः