
सिरहा — सिरहास्थित प्रादेशिक अस्पतालमा एक बालकको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् । सिरहा नगरपालिका-६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलित बनेका हुन् ।
मृतकका आफन्तले अस्पतालअगाडि राजमार्गमै टायर बालेर अहिले प्रदर्शन गरिरहेका छन् । जसका कारण अस्पताल क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ भने राजमार्गमा आवागमन नै अवरुद्ध हुन पुगेको छ ।
अस्पतालको लापर्बाहीकै कारण बालकको ज्यान गएको आफन्तजनको आरोप छ । आमा सुनितादेवी महराका अनुसार, घरमा अचानक बेहोस भएपछि राजनलाई आइतबार बिहान १० बजे अस्पताल ल्याइएको थियो ।
अस्पतालमा भर्ना भएपछि डा. सुदेशकुमार यादव, डा. नितेश कर्ण, मनिष मण्डललगायतले उनको स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य परीक्षणको क्रममा बालक कमजोरीका कारण बेहोस भएको र शरीरमा रगतको मात्रा अत्यधिक कम देखिएपछि ती चिकित्सकले रगत चढाउनुपर्ने बताए ।
तर, प्रादेशिक अस्पतालभित्रै रहेको ब्लड बैंकमा रगत लिन गएका बालकका आफन्तले रगत पाएनन् । आफूहरू गाउँको सामान्य मान्छे भएको, रगत कसरी कहाँबाट ल्याउने भन्ने कुरा थाहा पनि नभएको र सल्लाह माग्दा पनि कर्मचारीले गम्भीरतापूर्वक नलिएको गरेको सुनिताले बताइन् ।
‘यदि समयमा हामीले रगत पाएको भए मेरो छोराको ज्यान जाने थिएन,’ सुनिताले कान्तिपुरसित भनिन्, ‘अस्पतालले हामीलाई रगतका लागि सहजीकरणसम्म गरिदिएन, अस्पताल र यहाँका कर्मचारीहरूका कारण आज मैले छोरा गुमाउन पर्यो ।’
तर, अस्पतालका अध्यक्ष सुरेन्द्र यादवले बालकलाई चाहिने बी पोजिटिभ ब्लड अस्पतालभित्रै रहेको र चिकित्सकले चढाउने तयारी गरिरहेकै बेला बच्चाको ज्यान गएको बताए । बच्चाको अवस्था अत्यन्तै नाजुक भएकोले बचाउन नसकिएको उनको दाबी छ ।




