
सिराहा । बैंक लुटपाटमा संलग्न भारतीय नागरिक आरिफ खान उर्फ आरिफ हुसेनलाई नेपाल प्रहरीले सिराहा जिल्लाको दशगजा क्षेत्र नजिक घाइते अवस्थामा पक्राउ गरेको छ ।
सिराहाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार, आरिफ भारतबाट नेपालतर्फ भाग्दै गर्दा माडर क्षेत्रमा नियन्त्रणमा लिइएका हुन् ।
डिएसपी पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा मङ्सिर २९ गते बिहान आरिफलाई पक्राउ गरेको थियो । उनका हात, खुट्टा र शरीरका अन्य भागमा चोट लागेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि सिराहा प्रादेशिक अस्पताल पठाएको थियो । उपचारपछि उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको छ ।
आरिफ १६ जेठ २०८० मा महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकबाट ३८ लाख रुपैयाँ लुटपाट गर्ने हतियारधारी समूहको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा ४-५ जनाको समूहले दिउँसै बैंकबाट रकम लुटेर भागेका थिए ।
त्यस्तै, १० फागुन २०७९ मा सिराहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंकका सहायक लेखापाल उपेन्द्र साहबाट ९ लाख रुपैयाँ लुटपाट गर्ने घटनामा पनि आरिफको संलग्नता पुष्टि भएको छ । साहलाई मिर्चैया नगरपालिकाको बताहा पुल नजिक ४ जनाको समूहले हतियार देखाई रकम लुटेर भागेका थिए ।
आरिफमाथि भारतको बिहार राज्यको मधुवनी जिल्लामा हातहतियार र लुटपाटका गम्भीर मुद्दा दर्ता छन् । उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँको इनाम घोषणा गरेको थियो ।
प्रहरीले आरिफको आपराधिक गतिविधिबारे थप अनुसन्धान गरिरहेको छ । सीमा पार अपराधमा संलग्न आरिफको पक्राउले नेपाल-भारत सीमा क्षेत्रमा बैंक र आर्थिक संस्थामाथि भइरहेका लुटपाट घटनामा सुरक्षाकर्मीको सफलता झल्काउने विश्लेषण गरिएको छ ।




