वीरगञ्ज । तबला सम्राट् तथा पाँच पटकका ग्रामी पुरस्कार विजेता जाकिर हुसैनको निधन भएको छ । ७३ वर्षीय हुसैनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस नामक विरामीबाट ग्रसित हुसैनलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले उपचारका क्रममा अन्तिम सास फेरेको परिवारका सदस्यले जनाएका छन् ।
जाकिर हुसैनका परिवारद्वारा जारी वक्तव्यमा भनिएको छ, “विश्वकै सबैभन्दा अद्वितीय सङ्गीतकारमध्येका एक, जाकिर हुसैनको निधन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसका कारण सान फ्रान्सिस्कोमा भएको छ । उहाँका श्रीमती एन्टोनिया मिनेकोला, छोरीहरु अनीसा कुरेशी (ज्वाईं टेलर फिलिप्स र नातिनी ज़ारा) र इसाबेला कुरेशी, दाजुहरु तौफिक कुरेशी र फज़ल कुरेशी, तथा बहिनी खुर्शीद औलियाले उहाँलाई सम्झिरहेका छन् । उहाँको अद्भुत सङ्गीतले संसारभरका करोडौँ सङ्गीत प्रेमीहरूको मन छुने स्मृति छोडेको छ, जसको प्रभाव पुस्तौँसम्म रहनेछ ।”

सन् १९५१ मा जन्मिएका हुसैनलाई भारत सरकारद्वारा पद्म श्री (१९८८), पद्म भूषण (२००२), र पद्म विभूषण (२०२३) सम्मान प्रदान गरिएको थियो । उनले सङ्गीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान, सङ्गीत नाटक एकेडेमी पुरस्कार, र त्यसपछि सङ्गीत नाटक एकेडेमी फैलोशिप पनि प्राप्त गरेका थिए ।
संयुक्त राज्य अमेरिकामा उनलाई सन् १९९९ मा “नेशनल हेरिटेज फैलोशिप” प्राप्त भएको थियो, जुन पारम्परिक कलाकारलाई प्रदान गरिने सर्वोच्च सम्मान हो । सन् २०१७ मा एसएफजाजको “लाइफटाइम एचिभमेन्ट अवार्ड” र २०२२ मा “आगा खान अवार्ड” द्वारा उहाँका साङ्गीतिक योगदान र सामाजिक प्रभावको उच्च कदर गरिएको थियो ।
तबला वादक उस्ताद अल्लारखाका पुत्र रहेका जाकिर हुसैन बाल्यकालदेखि नै अद्वितीय प्रतिभाका रूपमा चिनिएको थियो । उनले सन् २००९ मा “कन्टेम्पोररी वर्ल्ड म्युजिक एल्बम” विधामा ग्रामी अवार्ड जितेका थिए । साथै, उनले “द बिटल्स” लगायतका विश्व स्तरीय पश्चिमी सङ्गीतकारहरूसँग गरेका सहकार्यले उनलाई अझै उच्च स्थानमा पुर्याएको थियो ।




