काठमाडौँ — पवन कल्याणको बहुप्रतिक्षित फिल्म ‘हरि हर वीर मल्लू’को रिलिज मिति पटक–पटक सारिएको छ । यो फिल्मको घोषणा जनवरी २०२० मा गरिएको थियो ।
फिल्म सुरुमा संक्रान्ति २०२२मा रिलिज हुने भनिएको थियो । तर ०२३, ०२४ हुँदै ०२५ सम्म आइपुग्दा पनि पटक-पटक मिति सर्यो । रिलिज हुन सकेन । अब भने आगामी मे ९मा सारिएको छ ।
फिल्मको टिजर ०२४मा सार्वजनिक गरिएको थियो । रिलिज मिति पटक–पटक सारिँदा प्रशंसकहरूले सामाजिक सञ्जालमा चिन्ता पोखिरहेका छन् ।
कतिपयले यो फिल्म ओटीटीमै रिलिज गर्न माग गरेका छन् । एक प्रशंसकले सुझाएका छन्, ‘अब त हद भयो, कृपया फिल्म ओटीटीमै रिलिज गर्नुहोस् ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो फिल्म मेरो इन्टरमिडिएटको पहिलो वर्षदेखि आउँछ भनिएको थियो । अहिले म इन्जिनियरिङ सकिसकेको छु । तर फिल्म अझै आएको छैन ।’
‘हरिहर वीर मल्लू’ एक ऐतिहासिक एक्सन फिल्म हो, जसमा पवन कल्याण मुख्य भूमिकामा छन् । साथै बबी देओल र निधि अग्रवाल पनि फिल्ममा मुख्य भूमिकामा छन् ।




