संघीयता संस्थागत गर्न केन्द्रबाट नै पहल हुनुपर्ने नेता निधिको माग

संघीयता संस्थागत नहुँदा नागरिकमा असन्तुष्टि बढिहेको बेला नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केन्द्रीकृत मानसिकता हावी हुँदा संघीयता कार्यान्वयन नभएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसद्वारा सोमबार पार्टी कार्यालयमा आयोजित संघीयता कार्यान्वयनसम्बन्धी कार्यक्रममा बोल्दै उनले भने, नेता तथा शासकको केन्द्रित सोच बदल्न आवश्यक छ । प्रदेश सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको र योजनाहरु बिक्री गरिरहेको गम्भीर आरोप लागिरहेको छ ।

प्रदेशमा चरम भ्रष्टाचार रहेको राज्यलाई अनावश्यक व्ययभार थपिएको आरोप लगाउँदै ठूला दलहरुका केही नेता र राजावादीहरुले संघीयताको विरोध गर्दै आएका छन् । देशमा प्रदेश सरकारको अभ्यास भइरहेको साढे सात वर्ष भइसक्दा शासन र प्रशासन प्रदेश सरकार मातहत छैन । संघीय सरकारले नै कर्मचारीहरु पठाउने कारण प्रदेशमा समयमा कार्यहरु हुन नसकेको सरकारको आरोप छ । ‘सातै प्रदेशमा प्रदेश मातहत प्रहरी संगठन छैन’ उनले भने, प्रहरी नभएको सरकारले शान्ति सुरक्षाको व्यवस्था कसरी मिलाउने ?

‘केन्द्रीकृत मानसिकता अझै पनि हामीमा छ’ नेता निधिले भने, कांग्रेसमा मात्र होइन यो प्रवृत्ति सबै पार्टीमा छ । समाज, विज्ञ, नागरिक अगुवामा पनि रहेको उल्लेख गर्दै उनले हालै स्वास्थ्य मन्त्रालयको सचिव, निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका विषयलाई अप्रत्यक्ष रुपमा उठाए ।

‘संविधानमा संघीय प्रणाली उल्लेख छ, तर सबै कुरा बालुवाटार र सिंहदरबारबाट नै हुनुपर्छ भने मानसिकता त्याग्न सकिएको छैन’ कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’प्रति संकेत गर्दै निधिले भने, बूढानीलकण्ठबाट हुनुपर्छ, सानेपाबाट नै हुनुपर्छ भन्ने मानसिकता छ ।

तलबाट हुनुपर्छ भनेर सोचै जाँदैन । गणतन्त्र रक्षाका लागि एकजुट हुन दलहरुलाई आग्रह गर्दै आएको नेकपा माओवादीका नेताहरुले संघीयता ल्याएको दाबी गरे पनि त्यसको अधिकार दिन उदार देखिएका छैनन् । संविधानमा उल्लेखित अधिकारहरु समेत प्रदेशलाई संघीय सरकारले उपभोग गर्न दिएको छैन । नेपाली कांग्रेसले ऐन, कानुन वा संविधान संशोधन गरेर भए पनि संघीयता कार्यान्वयनमा ध्यान पर्नेमा उनले जोड दिए । ‘संघीयताका लागि सबै प्रदेशको आ–आफ्नै प्रहरी संगठन हुन नसक्दा समस्या आएको छ ’ उनले भने, कांग्रेसको भूमिका संघीयता कार्यान्वयनकै लागि केन्द्रित गर्नुपर्नेमा मैले पटक पटक भन्ने गरेको छु ।

तर हाल सम्म त्यो कार्यान्वयन हुन नसकेको उनले गुनासो गरे । ‘पालिकाहरुमा प्रशासकीय अधिकृत जानै चाहँदैनन्’ उनले भने, प्रदेशमा सचिवका लागि मन्त्रीहरु सधैँ पीडा पोख्ने गरेका छन् । संघीयता कार्यान्वयनमा केन्द्रीय मानसिकता हाबी रहेसम्म संघीयता संस्थागत हुन नसक्ने उनको कथन थियो । विगतमा मधेश प्रदेशले संघीयताका लागि सशक्त रुपमा आवाज उठाउँदै प्रदेश प्रहरी कानुन समेत बनाइसकेको छ । कानुन बनाएको झण्डै ६ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रदेशमा आन्तरिक मामिला(गृह) मन्त्रालय रहेको छ । तर त्यसले संघीय सरकार मातहतको प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी, इलाका र थाना चौकीहरुमा बजेट वितरण बाहेकको काम नै छैन । नेता निधिले संघीयताको पक्षमा वकालत गर्दै प्रादेशिक संरचनालाई सबल बनाउनु पर्ने आवाज उठाउँदै आएका छन् । तर उनको कथनलाई काँग्रेसका नेताहरुले समेत वास्ता गरेको देखिदैन । वर्तमान सरकारमा कांग्रेस प्रमुख साझेदार छ । तर प्रदेश सरकारले पाउनै पर्ने अधिकारको विषयमा मौन छ ।

कांग्रेसकै मन्त्रालयबाट मधेशीहरुमाथिको विभेद बढेको छ । यसमा एमाले र माओवादी पनि पछाडि छैन । ठूला दलहरुले पार्टीमा समेत प्रादेशिक संरचनालाई प्रभावकारी बनाउन चाहेका छैनन् । देशमा गणतान्त्रिक लोकतन्त्रलाई समाप्त गर्न आन्दोलनको तयारी भइरहेको बेला संघीय सरकारले मधेशी, आदीवासी, जनाजातीसित गर्ने विभेद झन बढाएको छ । राज्यबाट भइरहेको विभेदले संघीयता विरोधी तत्वहरुलाई सहयोग मिल्न सक्ने मधेशी नेताहरुले चेतावनी दिन थालेका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः